२०८३ कार्तिक १२ October 29, 2026

हरायो खेन्हुवा र खढी

२०८३ कार्तिक १२, बिहीबार ११:२४
हरायो खेन्हुवा र खढी

धनगढी, १२ कात्तिक । थारू समुदायमा धान थन्क्याउने परम्परागत विधि खेन्हुवा र खढीको चलन विस्तारै हराउँदै गएको छ । आधुनिक तरिकाले छिटो धान थन्क्याउने प्रविधि आएसँगै यस्तो लोकप्रिय चलन हराएको हो । विगतमा यो समुदायका मानिसले खेन्हुवा बनाएर त्यसमा धान थन्क्याउने गर्थे । कुनै निश्चित ठाउँमा धान राख्नका लागि बनाएको आँगन जस्तो ठाउँलाई खेन्हुवा भनिन्छ । खेन्हुवामा उनीहरूले घर जस्तै बनाएर धान थन्क्याउने गर्थे । यसरी धान थन्क्याउने कार्यलाई खढी बनाएको भनिन्थ्यो ।


अचेल काटेको एक÷दुई दिनभित्रै खेतमै धान थ्रेसिङ गर्नुका साथै बढी जसो कम्बाइन हार्भेस्टर मेसिनले धान भित्र्याउन थालेकाले परम्परागत खेन्हुवा र खढीको चलन हराएको धनगढी उपमहानगरपालिका–१६, भादाका लक्ष्मीनारायण चौधरीले बताए । उनले भने, “अचेल खेन्हुवा र खढी बनाउने चलन हराइसक्यो । कहीँ पनि देखिन्न ।”


चौधरीका अनुसार आजको भोलि नै गरेर धान भित्र्याउने हतारो थिएन । मज्जाले पाकेपछि मात्रै धान काटिन्थ्यो । काटेको धान राम्ररी सुकेपछि मात्रै मुठो पारेर खेतमा थन्क्याइन्थ्यो । त्यसरी खेतमै थन्क्याउने कार्यलाई सैका बनाएको भनिन्थ्यो । सैकाको धान खेतबाट बयलगाडामा बोकेर खेन्हुवामा खढी बनाउने गर्दथ्यौँ । उनले भने, “त्यो बेला त कसले खढी राम्रो बनाउने भन्ने खुब प्रतिस्पर्धा पनि हुन्थ्यो । काठको फ्ल्याकले मिलाएर खढी बनाउने गथ्र्यौं ।”


एक परिवारको खेन्हुवामा दुई÷चार वटासम्म धानको खढी भएमा त्यो परिवार सम्पन्न रहेको परिभाषित पनि गर्ने गरेको बताइन्छ । किसानले खढीको धान गोरु राँगाले बिस्तारै दाइँ गरेर भित्र्याउने गरेका थिए । कात्तिकदेखि माघ अन्तिमसम्म धान दाइँ गर्ने र भित्र्याउने कार्य विगतमा भएको बताइएको छ । उनले कैलारीको सिमराना गाउँका किसानले एकै ठाउँमा खेन्हुवा बनाएर धान थन्क्याएको दृश्य जिल्लामै एउटा नमुना खेन्हुवाका रूपमा विगतमा देखिएको बताए ।

गोरखापत्रबाट / फोटो : लखन चौधरी