हसुलिया, १२ भदौ । कैलालीको कैलारी गाउँपालिकाका बाढी प्रभावित परिवारहरूलाई बहुउद्देश्यीय विकास समाज डडेल्धुराले राहत वितरण गरेको छ ।
सेभ द चिल्ड्रेनको सहयोग तथा कैलारी गाउँपालिकासँगको समन्वयमा बहुउद्देश्यीय विकास समाज डडेल्धुराले बाढीले बढी प्रभावित गाउँपालिकाको वडा नं ३ र ५ मा गैर खाद्य राहत सामाग्री बितरण गरेको हो । उक्त अवसरमा कैलारी गाउँपालिकाका बाढी प्रभावित परिवारलाई झण्डै २४ लाख ५२ हजार आठसय अठ्ठाईस रुपैया बराबरको राहत वितरण गरेको हो ।
भभदौ ४ देखि ६ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीबाट कैलारी गाउँपालिकामा ५४७ परिवारहरू प्रभावित भएका थिए । बाढी बस्तीमा पसेपछि स्थानीय बासिन्दाको घरको भित्ताहरू भत्किएको, खेतीपाती साथै भण्डारण गरेको अन्न समेत नष्ट भएपछि सो क्षेत्रका बासिन्दा प्रभावित बनेका थिए । ती मध्ये पालिकाको तथ्यांक अनुसार बाढीका कारण पूर्ण विस्थापित भएका सिमान्तकृत समुदायका बिपन्न र समस्यामा परेका २१९ घर परिवारलाई सेल्टर किट, डिगनिटी किट, हाईजिन किट, लाईफबोई साबुन, कपडा धुने साबुन, कोलगेट, झुल, खानेपानी शुद्धीकरणका लागि फिल्टर, जर्किन, मग, बाल्टीन र पिफर्म लगायतका स्वास्थ्य सरसफाईका राहत सामाग्री वितरण गरिएको बहुउद्देश्यीय विकास समाज डडेल्धुराका डिआरआर टेक्नीकल एक्सपर्ट राजेन्द्र रैकाले बताए ।

सेभ द चिल्ड्रेन फिल्ड कार्यालयकी परियोजना संयोजक फूलकुमारी चौधरीले प्राकृतिक विपद्को संवेदनशील घडीमा प्रभावित नागरिकको जीवन रक्षा, उद्धार र राहतको कार्यलाई प्रभावकारी रूपमा तत्काल सञ्चालन गर्न सहयेगा पुगोस भन्ने उद्देश्यले प्रभावित परिवारहरूलाई अत्यावश्यक सामाग्रीहरू वितरण गरिएको बताइन् ।
त्यस्तै सेभ द चिल्ड्रेन फिल्ड कार्यालयका परियोजना संयोजक टिका विकले वितरण गरिएको राहत सामाग्री सहि समयमा सहि रुपले प्रयोग गर्न बाढी प्रभावित परिवारलाई आग्रह गरिन् ।

कैलारी गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले भदौ ४ देखि ६ गतेसम्म आएको बाढीबाट गाउँपालिकामा धेरै परिवारहरू अफ्ठ्यारोमा परेको र अफ्ठ्यारोमा परेका ती परिवारहरूलाई सेभ द चिल्ड्रेनको सहयोगमा बहुउद्देश्यीय विकास समाज राहत सहयोग गरेकामा धन्यबाद दिए । उनले बहुउद्देश्यीय विकास समाज डडेल्धुराले कैलारी गाउँपालिकामा विपदको क्षेत्रमा अन्य संस्था भन्दा महत्वपूर्ण र प्रशंसनीय कार्य गरेको बताउदै यो पटकको बाढीको संकट, विपदमा पनि पालिका भरीमै राहत सहयोग गर्ने पहिलो संस्था रहेको बताए ।
कैलारी गाउँपालिका वडा नं ५ का अध्यक्ष विष्णु चौधरीले बाढी प्रभावितहरूको क्षतिको विवरण संकलन गरि पठाएको तथ्यांकको आधारमा स्वास्थ्य तथा सरसफाई र अन्य अत्यावश्यक राहत सामाग्री उपलब्ध गराएकोले अब विपदबाट थप हुन सक्ने जोखिम न्यूनिकरणमा टेवा पुग्ने बताए ।
“बाढीले घर तथा खाद्यान्न क्षति भएका कारण निकै कस्टकर जीवन बिताइ रहेको अवस्थामा यस्तो राम्रो सामाग्री सहयोग प्राप्त भएपछि अब हामीलाई ठूलो राहत हुने वडा नं ५ की बाढी पिडित सिमान्तकृत कुमाल समुदायकी संगीता कुमालले खुशी हुदै भनिन् ।“
कैलारी गाउँपालिका वडा नं ३ का अध्यक्ष सन्तराम चौधरी ले बिपदको यस्तो संकटमा संस्थाले गरेको मानवीय सहयोग आफैमा एकदमै महत्वपूर्ण र प्रशंसनिय रहेको बताए ।
कैलालीमा बहुउद्देश्शीय विकास समाज डडेल्धुरा ले बाढी लगायत प्राकृतिक विपद्को संवेदनशील घडीमा प्रभावित नागरिकको जीवन रक्षा, उद्धार र राहतको आपतकालिन पूर्वतयारी तथा प्रतिकार्य, मानविय सहायता, खानेपानी तथा स्वच्छता, स्वास्थ्य सरसफाई शिक्षा, मनोसामाजिक परामर्श, प्राथमिक उपचार, पूर्व सूचना प्रणाली लगायतका विषयमा महत्वपूर्ण कार्य गर्दै आईरहेको छ ।