१६ बैशाख २०८३, बुधबार April 29, 2026

गुर्गी सिँचाइ आयोजना निर्माणको माग गर्दै कैलारीका किसान आन्दोलित

१२ बैशाख २०८१, बुधबार
गुर्गी सिँचाइ आयोजना निर्माणको माग गर्दै कैलारीका किसान आन्दोलित

धनगढी, १२ बैशाख । कैलालीको कैलारी गाउँपालिका–२, कुकुरभुक्कामा रहेको गुर्गी सिँचाइ आयोजना निर्माण सम्पन्न गराउन माग गर्दै किसान सङ्घर्षमा उत्रेका छन् ।
सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय मातहतको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले टेन्डर निकाल्न आनाकानी गरिरहेको भन्दै किसानले सङ्घर्षका कार्यक्रम अगाडि बढाएका हुन ।
जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले पानीको स्रोत सुनिश्चितता नभएको बहानाबाजी गर्दै सिँचाइ आयोजना निर्माणका लागि टेन्डर आह्वान गर्न आनाकानी गरिरहेको आरोप किसानको छ ।
सो कार्यालयले हजारौँ किसानसँग सम्बन्धित योजना तुहाउन खोजेकाले सङ्घर्षका कार्यक्रम तय गरेको गुर्गी सिँचाइ आयोजना सङ्घर्ष समितिका संयोजक कमलप्रसाद चौधरीले बताए ।
गुर्गी सिँचाइ आयोजनालाई सुदूरपश्चिम प्रदेश सरकारले बहुवर्षीय योजना अन्तर्गत प्राथमिकतामा राखेर चालु आर्थिक वर्षमा १२ करोड रुपियाँ बजेट विनियोजन गरेको छ तर आर्थिक वर्षको चार महिना मात्रै बाँकी रहँदासम्म टेन्डर नगरी बजेट फ्रिज गर्ने प्रपञ्च भइरहेको किसानको आरोप छ । गुर्गी सिँचाइ आयोजनालाई अगाडि बढाउनका लागि कार्यालयले आनाकानी गरिरहेको संयोजक चौधरीले बताए ।
जिल्लाको पुरानो सिँचाइ आयोजनामध्ये गुर्गी सिँचाइ आयोजनाको बाँध धेरै वर्षपहिले तत्कालीन जमिनदार रामदिन महतो, छिमानन्द र देशराज महतोले आफ्ना रैतीमार्फत बनाएको बताइन्छ ।
त्यसताका माटो र झारपातले मात्रै बाँध बनाएर नदीको पानी किसानको खेतसम्म पु¥याउने कोसिस भएको थियो । २०२६ सालमा ढुङ्गाको बाँध बनाएर खेतसम्म पानी लगिएको थियो ।
आव २०६२÷६३ मा पक्की बाँध बनाइए पनि २०६४ सालमा आएको बाढीले आयोजनाको बाँध भत्काएपछि सो आयोजना हालसम्म अलपत्र अवस्थामा रहेको छ ।
आयोजना बन्द भएर नहरसमेत अतिक्रमण भएपछि कैलारी गाउँपालिका–१, २, ५ र ७ वडाका किसानले सिँचाइ अभाव समस्या झेल्दै आएका छन् । मुख्य पेसा खेतीकिसानी रहेको सो क्षेत्रका किसानले आकाशे पानी र बोरिङको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता रहेको छ ।


यसै बिच किसानहरूले सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा धर्ना दिएका छन् । सिँचाइको लागि सरकारले बर्सेनि बजेट विनियोजन गरे पनि कार्यान्वयन नभएपछि आजित भएका किसानहरूले धर्ना दिएका हुन् । साथै किसानहरूले भौतिक पूर्वाधार विकास मन्त्री कैलाश चौधरीलाई योजना कार्यान्वयन लागि अल्टिमेटमसहितको माग पत्र बुझाएका छन् । योजना कार्यान्वयन नभए चरणबद्ध रूपमा सङ्घर्षको कार्यक्रम गर्ने गुरगी योजना सङ्घर्ष समितिका संयोजक चौधरीले चेतावनी दिए ।
सङ्घर्ष समितिका संयोजक चौधरीले भने, ‘यो सरासर जनतालाई ठग्ने प्रवृत्ति हो । करिब ७ हजार जनसङ्ख्या योजना बने लाभान्वित हुन्थे । तर कार्यान्वयन नहुँदा हामी निकै दुःखी भएका छौ । आजको खबरदारी ट्रेलर मात्रै हो, कार्यान्वयन नभए भोलिका दिन जनता उतार्न तयार छौँ ।’


त्यस्तै, कैलाली गाउँपालिका ५ का स्थानीय रेवन्त बोहराले कर्मचारी संयन्त्रले आफूखुसी योजनालाई असफल घोषित गरेर जनता सपनमाथि गद्दारी गरिरहेको बताए । उनले चालु अवको बजेट फिर्ता गए आफूहरू जस्तो सुकै सङ्घर्ष गर्न तयार रहेको बताउँदै काम नगर्ने सिँचाइ विकास डिभिजन कार्यालय कैलाली, मन्त्रालयका सम्बन्धित कर्मचारीको राजीनामा समेत माग गरे ।
त्यस्तै गुरगी बाँध सिँचाइ जल उपभोक्ता संस्थाका अध्यक्ष भीष्मराज चौधरीले डीपीआरको नाममा ठग्ने काम भइरहेको भन्दै आक्रोश व्यक्त गरे । यसैबिच भौतिक पूर्वाधार विकास मन्त्री कैलाश चौधरीले आफूले सम्बन्धित निकायसँग बसेर योजनाबारे निकास दिने प्रतिबद्धता जनाएका छन् ।
स्थानीय किसानले ७ दिनभित्र कार्यान्वयनको प्रक्रियामा नगए चरणबद्ध रूपमा सङ्घर्षको कार्यक्रम गर्ने चेतावनी दिएका छन् ।