६ बैशाख २०८३, आईतवार April 19, 2026

कठरिया भाषा सम्बन्धी शिक्षकलाई तालिम

५ बैशाख २०८१, बुधबार
कठरिया भाषा सम्बन्धी शिक्षकलाई तालिम

सुखड, ५ बैशाख । कैलालीको घोडाघोडी नगरपालिका वडा नं. १ सुखडमा कठरिया भाषा सरासर पढ्ने, लेख्ने कक्षा सञ्चालनका लागि शिक्षकहरुको २ दिने तालिम सम्पन्न भएको छ । हिमाली आदिवासी समाज काठमाडौं र कठरिया समाज नेपालको सहकार्यमा भएको सो तालिम मंगलबार सम्पन्न भएको हो ।
पढाई प्रवाह परियोजना अन्तरगत कठरिया भाषाको सरासर पढ्ने, लेख्ने कक्षा कैलालीको १५ वटा कठरिया गाउँमा लागु भएको छ । सोही अनुरुप पहिलो चरणमा सरोकारवालाहरुको बैठक, स्थलगत सर्बेक्षण, पाठ्यपुस्तक निर्माण लगायतको कार्य सम्पन्न भएपश्चात् सो कार्यको निरन्तरता स्वरुप दुई दिने शिक्षक तालिम आयोजना गरिएको हिमाली आदिबासी समाज नेपालका फिल्ड सुपरभाइजर टीआर कठरियाले बताए ।
उनले दुई दिने शिक्षक तालिम पश्चात शिक्षकहरुले आफ्नो गाउँमा गाउँको भल्मन्सा, अगुवा र बुद्धिजीवीहरुको सहयोगमा २५ देखि ३० जना सम्म सहभागी छनौंट गरि धाराप्रवाह रुपमा कक्षा संचालन गर्ने बताए । प्रत्येक गाउँमा १ महिना सम्म चल्ने कक्षामा देवनागरीमा राम्रो सँग पढ्न र लेख्न सक्नेहरु सहभागी हुने छन् । यस कक्षाले अन्य भाषा पढ्न र लेख्नमा अब्बल भएका ब्यक्तित्वहरुलाई आफ्नो भाषामा समेत केहि कुरा लेख्न र पढ्न उत्प्रेरणा मिल्ने सहयोगी सँस्थाको ठम्याँई रहेको छ ।
कठरिया भाषा सरासर पढ्ने, लेख्ने कक्षा सञ्चालनका लागि भएको शिक्षक तालिममा परियोजना लागुभएको जिल्लाका मुनवा, लक्कड, घुसरी, सिमरी, तुल्सिपुर, भुरवा, मुडा, सुवरखाल, बगुलइहिया, सिसैया, तपा, कोंटा, चर्रा, पवेरा र लौसाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
उक्त तालिमको सहजीकरण एसआईएल इन्टरनेशनलका निर्देशक पृथ्वी चौधरी, हिमाली आदिवासी समाजका कार्यक्रम संयोजक टेसिडेमा भोटे र फिल्ड सुपरभाइजर टिआर कठरियाले गरेका थिए ।