६ बैशाख २०८३, आईतवार April 19, 2026

टीकापुरको समग्र विकासका लागि प्रधानमन्त्रीलाई ज्ञापन

२५ चैत्र २०८०, आईतवार
टीकापुरको समग्र विकासका लागि प्रधानमन्त्रीलाई ज्ञापन

धनगढी, २५ चैत । टीकापुरको समग्र विकास लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सात बुँदे ज्ञापनपत्र बुझाइएको छ । नागरि उन्मुक्ति पार्टी अध्यक्ष, प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री रन्जिता श्रेष्ठ, टीकापुरका मेयर रामलाल डंगौरा थारु लगायतको टोलीले ज्ञापनपत्र बुझाएका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा टीकापुर नगरपालिकाको गुरु आयोजनासहित स्मार्ट सिटी निर्माण, टीकापुर ५ दौलतपुरस्थित सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश जोड्ने कर्णाली नदिमा पक्की पुल निर्माण, विगत लामो समय देखि सञ्चालनमा नरहेको विमानस्थल सञ्चालन गर्न र टीकापुर ७ बेलुवाबाट भजनी नगरपालिका जोड्ने बाटोमा पर्ने पथरैया पक्की पुल निर्माणका लागि ज्ञापनपत्र मार्फत प्रधानमन्त्रीलाई आग्रह गरेको हो ।
त्यस्तै टीकापुर बसपार्क देखि पार्क जाने बाटोमा ढल निकास सहित कालोपत्रे निर्माण, नगरपालिकाको बाहिरी चक्रपथ निर्माण, प्लान्ट क्वारेनटाइन र खाद्य गुणस्तर कार्यालयको पुर्नस्थापना गर्न र टीकापुर क्षेत्रमा वाणिज्य कार्यालय र यातायात कार्यालय स्थापनाको पनि प्रधानमन्त्रीलाई ज्ञापनपत्र मार्फत आग्रह गरिएको छ ।
टीकापुर क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभा सदस्य रन्जिता श्रेष्ठले टीकापुरको विकासको लागि ज्ञापन पत्र बुझाइएको बताइन् । ‘टीकापुरमा समृद्धिका धेरै सम्भावना छन्’ उनले भनिन्, ‘हामीले ती सम्भावनाहरूलाई टेकेर टीकापुरको विकास गर्न चाहन्छौँ ।’
प्रधानमन्त्री प्रचण्डले टीकापुरको विकासका लागि आएको ज्ञापन पत्र अनुसार काम अगाडी बढाउन निर्देशन दिएका थिए ।