६ बैशाख २०८३, आईतवार April 19, 2026

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा

२२ चैत्र २०८०, बिहीबार
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा

धनगढी, २२ चैत । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन् । आज बिहीबार प्रदेश प्रमुख नजिर मियाँको निवासमा पुगेर मुख्यमन्त्री शाहले राजीनामा पत्र बुझाएका हुन् ।
प्रदेश सभामा आज विश्वासको मत लिने तयारीमा रहेका शाहले अन्तिममा आएर बहुमत नपाउने भएपछि राजीनामा दिएका हुन् । दिउँसो ३ बजेलाई बोलाईएको प्रदेश सभा बैठक ५ बजेसम्म विश्वासको मत लिने कार्यतालिका थियो । ५ बजेपनि मुख्यमन्त्री शाहको पक्षमा बहुमत नजुटेपछि उनले राजीनामा बुझाएका हुन् ।
नागरिक उन्मुक्ति र काँग्रेसको मात्र मुख्यमन्त्री शाहलाई समर्थन रहेको थियो । तर, नागरिक उन्मुक्ति पार्टीले मत नदिने भएपछि राप्रपा र स्वतन्त्र प्रदेश सभा सदस्यले पनि मत नदिने भनेपछि मुख्यमन्त्री शाह समस्यामा परेका थिए । विश्वासको मत दिने नदिने विषयमा नागरिक उन्मुक्ति पार्टीभित्र चर्को मतभेद भएको र स्वतन्त्र सांसदले समेत विश्वासको मत नदिने भएपछि मुख्यमन्त्री शाहले राजीनामा दिएका हुन् ।
माओवादी केन्द्र र एकीकृत समाजवादीले प्रदेशका मुख्यमन्त्री शाहको साथ छोडेकाले उनी अल्पमतमा परेका थिए । सरकारले कुनै पनि पार्टीको साथ गुमाएपछि सदनबाट एक महिना भित्र विश्वासको मत लिनु पर्ने कानुनी प्रावधान रहेको छ ।
सुदूरपश्चिममा माओवादी केन्द्र,एमाले,एकीकृत समाजवादी पार्टीसहितको नयाँ गठबन्धनको प्रदेश सरकार गठनका लागि बाटो खुल्ला भएको छ । सुदूरपश्चिममा काँग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक र एक जना स्वतन्त्र प्रदेश सभा सदस्य रहेका छन् । सुदूरपश्चिममा बहुमतको सरकार गठनका लागि २७ जना प्रदेश सभा सदस्यको मत आवश्यक पर्ने गर्छ ।