१२ बैशाख २०८३, शनिबार April 25, 2026

भीमदत्त नगरपालिकामा निषेधाज्ञा

२८ मंसिर २०८०, बिहीबार
भीमदत्त नगरपालिकामा निषेधाज्ञा

धनगढी, २८ मंसिर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भीमदत्त नगरपालिकामा निषेधाज्ञा जारी गरेको छ ।
स्वर्गीय राजा महेन्द्रको शालिक राख्ने विषयलाई लिएर राजनीतिक दलबीच मत भिन्नता देखिएको भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बिहीबारदेखि ७ दिनसम्म लागू हुनेगरि भीमदत्त नगरपालिका–४ को संविधान चोकदेखि पूर्वमा दशरथचन्दको शालिकसम्मको मुख्य सडक र पश्चिममा मदन भण्डारीको शालिकसम्मको मुख्य सडकखण्डमा निषेधाज्ञा जारी गरेका हुन् ।


स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम जारी आदेशअनुसार यो क्षेत्रमा ७ दिनसम्म ५ जना भन्दा बढी मानिस जम्मा भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न पाइने छैन ।
प्रजिअ अधिकारीले संविधान चोक आसपासको क्षेत्रमा सालिक स्थापना गर्न दिने नदिने सम्बन्धमा विभिन्न राजनैतिक दलहरु बीच मत भिन्नता भै आएको सन्दर्भमाः सार्वजनिक शान्ति सुव्यवस्थालाई कायम राख्न तथा अत्यावश्यक सेवालाई निर्वाध सञ्चालन गर्न निषेधाज्ञा लगाउनु परेको बताएका छन् ।
संविधान चोकमा आज बिहीबार राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनको उपस्थितिमा महेन्द्रको शालिक स्थापना गर्ने तयारी थियो ।