चाँदनी आचार्य
घोडाघोडी, २६ मङ्सिर । कैलालीको लम्कीचुहा–३, बल्चौरमा रहेको बसेरा सामुदायिक थारू होमस्टे सञ्चालनमा आए पनि उचित प्रचारप्रसारको अभावमा पर्यटक तान्न सकेको छैन । सुदूरपश्चिम प्रदेशको प्रवेशद्वार चिसापानीदेखि पाँच किलोमिटर पश्चिममा रहेको सो होमस्टे सञ्चालनमा आएको पाँच वर्ष बितिसकेको छ ।
करिब ३५० थारू समुदायको घरपरिवार रहेको बल्चौरमा अवस्थित बसेरा होमस्टे पाहुनाको पर्खाइमा रहेको सञ्चालक बताउँछन् । मनग्गे लगानी गरेर सुविधासम्पन्न होमस्टे निर्माण गरेका सञ्चालक किशोर चौधरीलाई लगानी कसरी उठाउने भन्ने चिन्ताले पिरोलेको छ ।
सामुदायिक होमस्टे सञ्चालक समितिका अध्यक्ष चौधरीले बसेरा होमस्टेमा सबैभन्दा राम्रो र व्यवस्थित घर आफूले बनाए पनि पाहुना नआउँदा लगानी उठाउन समस्या परेको बताए । उनले भने, “अरूले पक्की घरलाई होमस्टे बनाएका छन्, मैले माटो, काठको व्यवस्थित र आकर्षक घर बनाएको छु, यहाँ आउने पाहुनाले फरक अनुभूति गर्न सक्ने वातावरण छ तर उचित प्रचारप्रसारको अभावले रात बिताउने पाहुना आएका छैनन् ।”
उनले होमस्टे घर नम्बर ५ मा थारू संस्कृति झल्काउने कलाकृतिसहितको प्रवेशद्वार बनाइएको छ र माटोले लिपपोत गरेको चिटिक्क परेको सुन्दर छ । सहरमा व्यस्त जीवन बिताउनेका लागि बसेरा होमस्टेमा पुग्दा फरक खालको आनन्द आउने वातावरण बनाइएको छ । यहाँ १० वटा घरमा होमस्टे चलाउने उद्देश्य राखिए पनि अहिले चार वटा घर मात्र सञ्चालनमा आएका छन् । चार वटामा त पाहुना आउँदैनन्, आए पनि दिउँसो खानपिन गर्ने मात्र आउँछन्, राति बस्ने कहिलेकाहीँ मात्र आउँछन् ।
वडासदस्य प्रेमबहादुर चौधरी पनि सोही ठाउँका बासिन्दा हुन् । उनले भने, “सञ्चालनमा आएको धेरै समय भए पनि व्यवस्थित बनाउन कसैको सहयोग नहुँदा सोचे जस्तो होमस्टे चल्न सकेको छैन ।” नजिकै बर्दिया राष्ट्रिय निकुञ्ज, कर्णाली चिसापानीमा आउने पर्यटकलाई होमस्टेमा आउने वातावरण बनाउन सम्बन्धित निकायले सहयोग गर्नुपर्ने होमस्टे सञ्चालकको भनाइ छ ।
कर्णाली जैविक मार्गको काखमा रहेको बसेरा होमस्टेलाई व्यवस्थित सञ्चालनका लागि कुनै दातृ निकायको समेत सहयोग नरहेको उनको भनाइ छ । स्थानीयलाई होमस्टेको महत्वबारे बुझाउँदै सञ्चालनका लागि आवश्यक तालिम र सहयोगको खाँचो रहेको बताइन्छ । सामान्य खाना बनाउने तालिमबाहेक अन्य तालिम नलिएको होमस्टे सञ्चालक बताउँछन् । होमस्टेसम्बन्धी आवश्यक तालिम र प्रचारप्रसारको आवश्यकता देखिन्छ ।
लम्कीचुहा नगरपालिका–३ का वडाध्यक्ष लवबहादुर शाहीले बसेरा होमस्टे सञ्चालन तथा विकासका लागि पर्यटकसम्बन्धी रचनात्मक कार्यक्रमको माग भएको बताए । उनले स्थानीयको इच्छाशक्ति र उचित प्रचारप्रसार भए यस क्षेत्रको विकासमा होमस्टेले फड्को मार्ने उल्लेख गरे ।
गोरखापत्रबाट