धनगढी । धनगढीबाट पक्राउ परेका बैंक एकाउन्ट ह्याकर नेपाली र भारतीयहरुको टीम रहेको खुलेको छ ।
प्रहरीका अनुसार ४ जना भारतीय र ५ जना नेपालीहरु मिलेर कार्यालय नै खोलेर काम गरिरहेका ह्याकरको टीमलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा डोटीको शिखर नगरपालिका १० का २१ वर्षीय प्रसान्त बलायर, कञ्चनपुरको पुर्नवास नगरपालिका ६ बस्ने २९ वर्षीय मिन बहादुर सुनार, बेलडाडी गाउँपालिका २ बस्ने ३० को विशाल सुनार, २८ को कमल सुनार र २२ वर्षीय जयराम सुनार रहेको कैलालीका प्रहरी नायब उपरिक्षक कुलदिप चन्दले बताए ।
यस्तै भारतको दिल्ली पालङ्गा बस्ने ३२ वर्षका अमित कुमार, भारतको उत्तमनगर दिल्ली बस्ने २६ को कुनाल शर्मा, भारतकै करोलबाग दिल्ली बस्ने वर्ष २४ को निखिल कुमार र भारतको दिल्ली बस्ने १९ वर्षीय प्रियंसु टापु पक्राउ परेका हुन् ।
यस्तै ह्याकरका प्रमुखको घरबाट ठुलो रकम बरामद गरिएको छ । ठगी धन्दाका मुख्य नाइके रहेका कञ्चनपुरको बेल्डाडी गाउँपालिका–२ का विशाल सुनारको घरमा प्रहरीले छापा हानेकोमा ४६ लाख ९१ हजार ६८० रुपैयाँ बरामद गरिएको छ ।
नेपाल राष्ट्र बैँक, धनगढी नजिक कार्यालय स्थापना गरेर उनीहरूले बैँकका खाताहरू ह्याक गर्ने र विभिन्न ठगीका कामहरू गर्दै आएका प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
बुधवार सुदूरपश्चिम प्रदेश प्रहरी अन्तर्गत प्रदेश प्रहरी अनुसन्धान समूह (आरआइटी) का प्रहरी सहायक निरीक्षक अनिल विष्ट र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरबाट पहरी नायक निरिक्षक प्रकाश कडायतको नेतृत्वमा खटिएको अनुसन्धान टोलीले सो समुहको कार्यालय पत्ता लगाएको थियो । सो पश्चात जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सन्तोष बस्यालको कामाण्डसहितको संयुक्त टोलीले गिरोहलाई पक्राउ गरेको हो ।
उनीहरूको साथबाट विभिन्न कम्पनीका ल्यापटप र मोबाइल समेत बरामद गरिएको छ । लेनोभो कम्पनीको ल्यापटप ९ थान, डेल कम्पनीको ल्यापटप २ थान, विभिन्न कम्पनीका मोबाइल ८ थान, हेडफोन १२ थान, किबोर्ड १ थान र वर्डलिंक कम्पनीको वाईफाई र राउटर १ थान बरामद गरिएको प्रहरी नायब उपरिक्षक चन्दले बताए ।
नियन्त्रणमा लिएका सबैलाई जिल्ला प्रहरी कार्यालयमा राखि थप अनुसन्धान भईरहेका चन्दले बताए । उनीहरूले अवैध रूपमा आईटी सेन्टर सञ्चालन गरी विभिन्न बहानामा मनी लाउण्डरिङ्, बिमा दुर्घट्ना लगायत विषयमा प्रलोभनमा पारी पोल्याण्ड लगायतका नागरिकलाई अनलाईन मार्फत ठगी गर्ने गरेको प्रहरीले जनाएको छ ।