कैलाली । महिलाहरुको आय आर्जन र सीप तथा व्यवसायिक विकासका लागि कैलारीका महिलाहरुलाई ढकिया, डालो र बास्केट बनाउने तालिम दिइएको छ ।
कैलारी गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजना तथा पारदर्शी महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड हसुलिया र कल्प संस्थाको सहकार्यमा थारु महिलाहरुलाई १५ दिने ढकिया, डालो र बास्केट बनाउने तालिम दिएको हो ।

तालिमको समापनमा कैलारी गाउँपालिकाकी उपाध्यक्ष भगवतीकुमारी चौधरीले ढकिया थारु संस्कृतिसंग जोडिएको र तालिमले महिलाहरुलाई डालो र बास्केट पनि बुन्न अवसर पाएको बताए । उनले तालिम पश्चात ढकिया, डालो र बास्केट बनाएर व्यावसायिकता तिर जोड दिनु पर्ने बताइन् । उनले भनिन्, ‘ढकिया, डालो र बास्केटको लोकप्रियता बढ्दै गएको छ । यसलाई निरन्तर रुपमा उत्पादन गरेर आय आर्जन पनि गर्न सकिन्छ ।’
बजारमा पाइने प्लाष्टिक बस्तु मानव स्वास्थ्यका लागि हानिकारण रहेकोले उनले स्थानिय स्तरमै पाइने पुँजा, मुजबाट बनेको बस्तु वातावरणमैत्री रहेको बताइन् । बजारमा प्लाष्टिक भाडा आएपछि ढकिया, छिट्वा, छिट्टर लगायत सामाग्री विस्थापित हुन पुगेको उनले बताइन् ।
उपाध्यक्ष चौधरीले पुँजा, मुज, बाँस लगायत घाँसबाट बन्ने बस्तुको प्रवद्र्धन गर्न जरुरी रहेको बताइन् । उनले गाउँपालिकाबाट मुज उत्पादनका लागि बजेट पनि विनियोजन गर्ने बताइन् ।

वडा नम्बर ३ का वडा अध्यक्ष सन्तराम चौधरी, र वडा नम्बर ४ का वडा अध्यक्ष ठागुराम चौधरीले ढकिया, डेलुवा र बास्केट बनाउने तालिमले महिलाहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बन्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।
गाउँपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख बालकुमारी चौधरीले तालिमबाट महिलाहरुको सीपको विकास हुनका साथै आय आर्जन तथा क्षमता विकासमा सहयोग पुग्ने बताइन् ।
कल्प संस्थाकी म्यानेजिङ डाइरेक्टर प्रकृति ढुङगेलले उत्पादित बस्तुहरुको बजारीकरणबारे जानकारी दिएकी थिइन् ।
तालिममा १८ जना महिलाहरुको सहभागिता रहेको थियो भने तालिमको प्रशिक्षण करिश्मा चौधरीले गरेकी थिइन् ।