हसुलिया । शनिबार आएको बाढी प्रभावितहरुको पुनस्र्थापना र राहतका लागि कैलारी गाउँपालिकाले सहयोगका लागि अपिल गरेको छ ।
बाढीले गाउँपालिका अन्र्तगतका विभिन्न वडाको हजार बढी घर डुबान भएको जनाएको छ । डुबानले घरमा रहेको खाद्यन्न तथा लत्ताक कपडा नष्ट भएको कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले बताए । उनले भने–‘शनिबार कटैनी, मोहना र घुरहा नदिमा आएको बाढीले विभिन्न वडाको हजारौ घर डुबानमा परेका थियो । डुबानले घरमा राखेको अन्नबाली लगायत लत्ता कपडा सबै नष्ट भएको छ ।’

‘गाउँपालिकाको अधिकांस भाग डुबान, पटान र कटानले धनबाली समेत नष्ट भएको छ । यस्तो विपदको बेला बाढी प्रभावितहरुको पुनस्र्थापना र राहत सहयोगका लागि सबैसँग हामीले अपिल गरेका छौ’, अध्यक्ष चौधरीले भने ।
आइतबार गाउँपालिकाले अपिलपत्र जारी गर्दै बाढी प्रभावितहरुको पुनस्र्थापना आवश्यक राहत सहयोग तथा समन्वयका लागि सरकारी निकाय, वित्तीय संस्था, गैरसरकारी संघ÷संस्था नागरिक समाज, उद्योगी व्यापारी तथा आमनागरिकहरुसँग सहयोगका लागि अपिल गरेको छ ।
बाढीले गाउँपालिकाको वडा नम्बर ५ अन्र्तगत मनकापुर, बन्दरगौरी, बैजपुर, सपना शिविर सहित वडा नम्बर ७ को बर्का बसन्ता, छटकपुर बसन्ता, रामपुर, नारायणपुर, भुँइयाँफाँटा, टिघरी लगायतका गाउँ डुबान परेको थियो । बाढीले वडा–५ मा ३ सय घरधुरी, वडा–८ मा २५०, वडा नम्बर १ मा ४०, वडा नम्बर ७ मा ३१० घरधुरी डुबान परेको जनाएको छ ।
त्यसैगरी मोहना नदिको बाढीले वडा नम्बर ३ खोनपुर स्थित मोहना नदिमा निर्माणाधिन अवस्थामा रहेको झुलुङगे पुलको पिल्लर समेत बगाएको छ ।