जातीय भेदभाव र छुवाछूतलाई सामाजिक र ब्यवहारिक रुपमै अन्त्य गर्न आवश्यक : राज्यमन्त्री रैका


कैलाली । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेक बहादुर रैकाले जातीय भेदभाव र छुवाछूत सामाजिक रुपमा अनैतिक, अमानवीय र कानूनी रुपमा गम्भीर अपराधजन्य कार्य भएको बताएका छन्। नेपाल ‘छुवाछूत मुक्त राष्ट्र’ घोषणाको १६औँ वर्ष पूरा भएको अवसरमा राज्यमन्त्री रैकाले शुभकामना सन्देश मार्फत हरेक नागरिकलाई न्याय समानता सहितको मर्यादित जीवनका लागि शुभकामना व्यक्त गरेका छन्। २०६३ जेठ २१ गते नेपाललाई ‘छुवाछूत मुक्त राष्ट्र’ घोषणा गरिएको हो।
नेपालमा लोकतन्त्रको स्थापना र पुनर्बहालीसँगै सबै किसिमका विभेद अन्त्य गर्न पटक–पटक सार्वजनिक घोषणा भएका छन्। राज्यमन्त्री रैकाले जातीय भेदभाव र छुवाछूतको व्यवहार एक सभ्य समाजको कलङ्कका रुपमा रहेको हुँदा प्रत्येक नागरिकले न्याय, समानता र स्वतन्त्रताको अनुभूति हुनेगरी जीउन पाउने नैसर्गिक अधिकारको सुनिश्चित गर्न र समातामूलक समाज निर्माणको सार्थक प्रयासमा आफू र सुदूरपश्चिम प्रदेश सरकार लागि परेको उल्लेख गरेका छन्।
जातीय विभेद छुवाछुत, विकृति र विसङ्गतिले व्यक्ति, परिवार, समाज र राष्ट्रलाई नकारात्मक प्रभाव पारेको उल्लेख गर्दै २१ औँ शताब्दीको समाजमा पनि विद्यमान धर्म, परम्परा र संस्कृतिका नाममा मानव मानवकै बीचमा जातीय, क्षेत्रीय, लैङ्गिक विभेदका व्यवहार हुनु आफैंमा एक अपमानजनक कार्य भएको बताएका छन्।
जातीय विभेद तथा छुवाछुत अन्त्यका लागि तीनै तहका सरकारले कानूनको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा राज्यमन्त्री रैकाले जोड दिएका छन्।
राज्यमन्त्री रैकाले भनेका छन्, ‘हाम्रो समाजबाट यस प्रथाको समूल अन्त्य गर्न कानुनको प्रभावकारी कार्यान्वयन गर्दै सामाजिक चेतना र जागरण अभिवृद्धिका लागि निरन्तर क्रियाशील रहन म स्थानीय तह‚ प्रदेश तथा संघीय सरकार‚ सुरक्षा निकायका साथै राजनीतिक दल, नागरिक समाज‚ सामाजिक संघ संस्था र सञ्चारकर्मीहरूमा हार्दिक आह्वान गर्दछु।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *