थारु पत्रकार संघको माहधिवेशन अगामी चैत १२ र १३ गते हुने


राम अवतार चौधरी
कपिलवस्तु
। थारु पत्रकार संघ नेपालको केन्द्रीय नवौँ बैठक तथा थारु जनप्रतिनिधिहरुसँग अन्तक्रिर्या कार्यक्रम गरिएको छ । संघको बैठकले पाँचौं केन्द्रीय महाधिवेशन आगामी चैत १२ र १३ गते नवलपुरमा गर्ने निर्णय गरेको छ । जिल्लाको बाणगंगा नगरपालिकाको चार नम्बर जीतपुरमा शनिबार आयोजित केन्द्रीय कमिटीको बैठकले सो निर्णय गरेको जनाइएको छ ।

बैठकले संघको विधान संशोधन तथा मस्यौदा तयार गरेको छ । मस्यौदा कमिटीद्वारा प्रस्तुत दस्तावेजमा छलफल गरी केन्द्रीय कमिटीले पारित गरेको छ । सो विधान मस्यौदालाई आगामी महाधिवेशनमा प्रस्तुत गरी अनुमोदन गरेपछि कार्यान्वयन गर्ने संघले जनाएको छ । मस्यौदा विधानले संघको केन्दीय कमिटी, प्रदेश कमिटी र जिल्ला कमिटी रहने व्यवस्था समेत गरिएको आयोजकले जनाएको छ ।

त्यसैगरी केन्द्रीय बैठकले आगामी माघ १५ गते जिल्ला शाखा अधिवेशन गर्ने निर्णय गरेको छ । देशभरका १६ जिल्लामा शाखा रहेको संघमा करिब पाँच सय थारु पत्रकार आवद्ध रहेको थाप संघका केन्द्रीय अध्यक्ष सन्तोष दहितले जानकारी दिए । आगामी फागुन ७ गते संघको प्रदेश कमिटी गठन गर्ने निर्णय गरिएको बताइएको छ ।

उक्त बैठकमा विधान मस्यौदामा संघको कार्य कमिटीको कार्यकाल ३ वर्षको हुने प्रस्ताव गरिएको छ । यसअघि २ वर्षको कार्यकालको व्यवस्था थियो । सोहीअनुसार संघ, प्रदेश र जिल्लाको अध्यक्ष हुनलाई एक कार्यकाल कार्य समितिमा रहेर काम गरिसकेको मापदण्ड पनि बैठकले प्रस्ताव गरेको छ ।

यसैबीच थापस कपिलवस्तु शाखाको समन्वयमा गरिएको अन्तक्रिर्या कार्यक्रममा कपिलवस्तु जिल्ला समन्वय समितिका उप–प्रमुख तारावती थारुले थारु पत्रकारलाई चलायमान बनाइ राख्न थारु जनप्रतिनिधि लगायत उच्च तहको ओहदमा रहेको सम्बन्धित व्यक्ति वा संस्थाले सकारात्मक भुमिका खेल्नुपर्ने बताएकी छन् । पत्रकार उत्पादन गरेर टिकाउन नसक्नु विडम्बना रहेको जनाउँदै एकआर्काबीच पारसपारिक सम्बन्ध विस्तार गर्न नसक्नु आफ्नै कमजोरी रहेको उनले बताइन् । आगामी दिनमा यस्ता कमीकमजोरीलाई सुधार गरि अगाडि बढ्नुपर्ने बताउँदै आफूले सक्दो सहयोगको प्रतिबद्धता समेत उप–प्रमुख थारुले जाहेर गरिन् ।

शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी थारुले आइतबार अन्तक्रिर्या कार्यक्रमलाई सम्बोधन गर्दै नगरपालिकाको उपप्रमुख जस्तो गरिमामय पदमा आइपुग्नु मिडिया लगायत थारु पत्रकार संघको मुख्य हात रहेको प्रशंसा गरिन् । थारु संस्कृति, परम्परा, भेषभुषा र संस्कारलाई जगेर्ना गर्न थारु समुदायको डिउहार मरैया संरक्षणदेखि लिएर संग्रहालय निर्माणमा समेत जोड दिएको उनले बताइन् । थारु समुदायको इतिहास लगायत हरेक गतिविधिलाई प्रचारप्रसार गर्न थारु पत्रकार जन्माउन जरुरी रहेको बताउँदै थारु पत्रकारलाई खोजमूलक पत्रकारिता गरि समुदायको आवाज उठान गर्नुपर्नेमा नगर उपप्रमुख थारुले जोड दिइन् ।

उक्त कार्यक्रममा राम बिहारी थारु, ऋषिराम थारु, दुर्गा अर्याल, थारु कल्याणकारीणीसभा कपिलवस्तु सभापति उमाशंकर थारु लगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *