महिला स्वास्थ्य स्वयम् सेविकालाई साइकल


हसुलिया । कैलालीको कैलारी गाउँपालिकामा रहेका १२५ जना महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई साइकल वितरण गरिएको छ ।
चालू आर्थिक वर्षको कार्यक्रम अनुसार कैलारी गाउँपालिकाको कार्यालयले उनीहरुलाई साइकल दिएको हो । मंगलबार एक कार्यक्रमकाबीच गाउँपालिकाले महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई साइकल हस्तान्तरण गरेको छ । गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरी, उपाध्यक्ष लक्ष्मी सत्गौवा र प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज जोशीले साइकल हस्तान्तरण गरे ।
महिला स्वास्थ्य स्वयम् सेविकाको माग अनुसार उनीहरुलाई साइकल दिइएको स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र सापकोटाले बताए । ‘महिला स्वास्थ्य स्वयम् सेविकाहरु जुनसुकै बेलामा पनि गाउँघरमा खट्ने गरेका कारणले उनीहरुको सहजताका लागि साइकल दिइएको हो’, उनले भने ‘साइकल उनीहरुको माग पनि थियो ।’


स्वास्थ्य क्षेत्रमा सुधारका लागि महिला स्वास्थ्य स्वयम् सेविकाहरु गाउँघरमा निःशुल्क रुपमा काम गर्दै आएका छन् । ग्रामीण क्षेत्रको स्वास्थ्य अवस्था सुधार हुनुमा उनीहरुको ठूलो भूमिका छ । गाउँघरमा डाक्टरको रुपमा परिचित महिला स्वास्थ्य स्वयम् सेविकाले नेपाल सरकारबाट यातायात खर्चको नाममा मासिक पाँच सय रुपैयाँ पाउने गरेका छन् । यसैगरी, पोशाक खर्च भनेर वार्षिक १० हजार रुपैयाँ सरकारले उनीहरुलाई दिने गरेको छ । कुनै राष्ट्रिय अभियान सञ्चालन भएमा त्यसमा खटेवाफत दैनिक चार सय रुपैयाँ भत्ता दिइने गरेको जनाइएको छ ।
साइकल वितरण कार्यक्रममा वडा अध्यक्षहरु कैलाशप्रसाद चौधरी, बालकृष्ण चौधरी, सन्तु चौधरी, प्रेम चौधरी, दुःखीराम कठरिया, योजना शाखा प्रमुख सन्तोषकुमार चौधरी लगायतको उपस्थिति रहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *