२०८३ मंसिर १० November 25, 2026

आरोही उद्यमी मेलाले महिलालाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्ने

२०८३ मंसिर ९, बुधबार १५:०७
आरोही उद्यमी मेलाले महिलालाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्ने

धनगढी, ९ मंसिर । सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा बातावरण मन्त्री प्रकाश रावल आरोही उद्यमी मेलाले विशेषगरी महिलाहरुलाई आर्थिक समृद्धीमा अगाडी बढाएर आत्मनिर्भर बनाउनेमा महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।
बुधबार धनगढीमा आरोही उद्यमी मेलाको समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री रावले मेलाले महिलामा रहेको परम्परागत सीप परिवर्तन गर्नेमा पनि महत्वपूर्ण भूमिका खेलेको बताएका हुन् ।
सुदूरपश्चिम प्रदेशका महिला उद्यमीले उत्पादन गरेका वस्तुको प्रवद्र्धन तथा बजारीकरण गर्ने उद्देश्यले धनगढीमा यहि मंसिर ८ र ९ गते ‘आरोही उद्यमी मेला–२०८३’ आयोजना भएको थियो ।


महिला उद्यमीहरूको पहिचान, उद्यमशील प्रयासलाई प्रोत्साहन तथा स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले एफसीए नेपाल, महिला उद्यमी संघ नेपाल, नेपाल युवा उद्यमी मञ्च, यूएन वुमन, मुक्त कमैया महिला विकास मञ्च, निड्स नेपाल, एकीकृत विकास समाज र सारथी नेपालको साझेदारीमा मेला आयोजना भएको थियो ।
मेलामा सुदूरपश्चिमका करिब ३० जना महिला उद्यमीले उत्पादन मह, झोला, हस्तकलाका सामग्री, स्थानीय तथा परम्परागत उत्पादन, खाद्य सामग्रीलगायत वस्तु प्रदर्शन गरिएको थियो । मेलाले स्थानीय उत्पादनको पहिचान र बजार पहुँच विस्तार गर्नुका साथै महिला उद्यमीबीच अनुभव आदानप्रदान, सहकार्य र व्यावसायिक सम्बन्ध विकासमा सहयोग पुग्ने अपेक्षा लिइएको आयोजकले जनाएको छ ।