२० मंसिर २०८१, बिहीबार December 5, 2024

एक्सीस विद्याश्रमका विद्यार्थीद्वारा विद्युतीय कार निर्माण

११ पुष २०७८, आईतवार
एक्सीस विद्याश्रमका विद्यार्थीद्वारा विद्युतीय कार निर्माण

धनगढी । कैलालीको धनगढीमा रहेको एक्सीस विद्याश्रमका चार जना छात्रले सारअल्फा नामक विधुतीय चार पाङ्ग्रे कार निमार्ण गरेका छन् ।
एक्सीस विद्या आश्रममा अध्ययनरत विद्यार्थी ऋषिकेश थापा,रोहित ऐर, आदित्य जोशी, सक्षम रेग्मीले सो कार निमार्ण गरेका हुन् ।कोरोनाको दोस्रो लहरमा जारी गरिएको लकडाउनमा उनीहरूले सो कार्य गर्ने निर्णय गरेका थिए । करिब चार महिना लगाएर करिब डेढ लाख लागतमा सारअल्फा नामक कार निमार्ण गरेको ऋषीकेष थापाले बताए । घर परिवार र विद्यालयको सहयोगबाट आफूहरूले सो कार निमार्ण गरेको उनको भनाई छ ।


‘लकडाउनलाई सदुपयोग गरौँ भन्ने सोचले हामीले यो कार्य सुरु गरेका थियौ’, थापाले भने–‘यो अवधिमा धेरै समस्या पनि आए, तर हामीले घर परिवार र विद्यालयबाट आर्थिक सहयोग पायौँ । करिब चार महिना लाग्यो बनाउन । अहिले पनि निमार्ण कार्य जारी छ ।’
कारमा चाहिने सामाग्रीहरू विभिन्न ठाउँबाट जुटाएर कार निमार्ण गरेको उनको भनाई छ । कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूले पढाइसँगै आफूहरूको क्षमतालाई पनि बाहिर ल्याउने उद्देश्यले यस क्षेत्रमा लागेको उनीहरूको भनाई छ । अहिले सो कारमा चार वटा व्याट्रीको प्रयोग गरिएको छ । उक्त कारको लोड क्षमता सात क्वीन्टल रहेको छ । त्यसलाई अन्य गाडीहरू जस्तै बजारमा ल्याउने गरी काम गरिरहेको बताइएको छ ।