धनगढी । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) कैलालीको अध्यक्षमा राम दहित निर्बिरोध चयन भएका छन् ।
फोनिज कैलालीको शनिबार धनगढीमा सम्पन्न चौथो अधिवेशनबाट उनको अध्यतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्बिरोध चयन गरेको हो । डेढ दशक बढी समय देखि पत्रकारिता क्षेत्रमा आवद्ध दहित पहुरा थारु दैनिकका कार्यकारी सम्पादक र कैलारी अनलाइनका प्रकाशक/सम्पादक हुन् ।
पत्रकारिता क्षेत्रमा क्रियाशिल दहित नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश सदस्य समेत हुन । नेपाल पत्रकार महासंघ कैलाली कार्यसमितिमा सदस्य देखि सहसचिव पदको जिम्मेवारी निर्वाह गरिसकेका दहितले फोनिज कैलाली कार्यसमितिमा कुशलतापूर्वक दुई कार्यकाल सचिवको जिम्मेवारी समेत निर्वाह गरिसकेका छन् ।
समाजशास्त्रमा स्नाकोत्तर अध्यक्ष दहितले आफूले आदिवासी जनजाति सवाल, हकहित, पहिचानको लागि जनजाति पत्रकार र उनीहरुको सञ्चालन गरेका सञ्चार माध्यमहरुको संख्यात्मक र गुणात्मक रुपमा विकास गर्न जोड दिने बताएका छन् । यसका साथै अध्यक्ष दहितले पत्रकारिता पेशा प्रति जनजाति युवाहरुको आकर्षण बढाउन स्थानीय तहसंग समन्वय र सहकार्य गरि क्षमता अभिवृद्धि, सचेतीकरण, तालिम, गोष्ठी लगायतका कार्यक्रम सञ्चालन गर्ने जनाएका छन् । साथै उनले कैलाली जिल्लाका आदिवासी जनजाति पत्रकारहरुको डिजिटल प्रोफाइल बनाउने समेत बताएका छन् ।
कार्यसमितिको उपाध्यक्षमा गीता चौधरी (सामुदायिक एफएम टीकापुर), सचिवमा सागर कुश्मी (हर्चाली साहित्यिक), सहसचिव अनिता चौधरी (पहुरा दैनिक) र कोषाध्यक्षमा प्रेम चौधरी (पहुरा अनलाइन) रहेका छन् ।
कार्यसमितिको सदस्यमा क्रमशः स्वरुप चौधरी (घोडाघोडी एफएम), बनवारी राना (बाबा टेलिभिजन), मनिषा थारु र कन्चन चौधरी (हर्चाली साप्ताहिक), प्रविन चौधरी (कैलारी पोष्ट), दिनेश राना (रानाथारु डटकम), राम प्रसाद चौधरी –थारुनके डटकम) र खडक चौधरी (जोशीपुर साप्ताहिक) रहेका छन् ।
फोनिज कैलाली अध्यक्ष राम लखन चौधरीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरी रहेका थिए । कार्यसमिति सदस्य गीता चौधरीको स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रमको सञ्चालन सचिव राम दहितले गरेका थिए ।
सोही कार्यक्रमका बिच फोनिज कैलालीले पहुरा थारु दैनिकलाई १ दर्जन कुर्सी सहयोग गरेको छ । फोनिज कैलालीमा ५० बढी आदिवासी जनजाति पत्रकारहरु रहेका छन् ।