२७ आश्विन २०८१, आईतवार October 13, 2024

धनगढीमा सडक विस्तार, सरकारी संरचनामाथि डोजर

१६ कार्तिक २०७९, बुधबार
धनगढीमा सडक विस्तार, सरकारी संरचनामाथि डोजर

धनगढी । धनगढी उपमहानगरपालिकाले सडक विस्तार गर्न सरकारी संरचनामाथि डोजर चलाउन सुरु गरेको छ ।
कैलाली पुलदेखि क्याम्पसचोकसम्मको मेनरोडको बीच भागबाट दायाँबायाँ १५/१५ मिटर सडक विस्तार सुरु गर्ने क्रममा संरचनामाथि डोजर चलाएको उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाले यसअघि सडक बिस्तारका लागि सूचना जारी गरेको थियो ।
सोही अनुरूप आजदेखि सडक क्षेत्रमा पर्ने संरचना हटाउन सुरु गरिएको हो । सेती प्रादेशिक अस्पतालको स्वामित्वमा रहेको प्रदेश स्वास्थ्य कार्यालय, रक्तसञ्चार केन्द्र लगायतका संरचनामा डोजर चलाइएको हो । उपमहानगरपालिकाले वडा नम्बर १ कैलाली पुलदेखि वडा नम्बर ८ क्याम्पस चोक सडक छेउका संरचना हटाउन उपमहानगरले जनाएको छ ।
‘भदौमा सडक क्षेत्राधिकार खाली गर्नका लागि हामीले सूचना जारी गरेका थियौँ । तर लगत्तै दसैँ, तिहार परेको हुँदा डोजर लगाउन सुरु नगरेको हो,’ मेयर गोपाल हमालले भने, ‘अब पहिलो चरणमा सरकारी कार्यालयहरुमा डोजर चलाएका छौँ । दोस्रोमा संघसंस्था त्यसपछि मात्र निजी संरचना भत्काइनेछ ।’
उनले सकेसम्म सबैलाई संरचना आफैँ खाली गर्नसमेत आग्रह गरेका छन् । ‘आफैँले सडक खाली गरेमा क्षति कम हुन्छ’, उनले भने, ‘डोजरले भत्काउँदा धेरै क्षति हुने भएको हुँदा समयमै सडकको क्षेत्राधिकार खाली गरौँ ।’
भदौ १३ मा उपमहानगरपालिकाले सडक छेउका संरचना हटाउन पत्राचार समेत गरेको थियो । उपमहानगरले तोकेको समयमा सडक क्षेत्र खालि नभएपछि डोजर चलाएर संरचना हटाउन थालिएको हो ।