८ बैशाख २०८१, शनिबार April 20, 2024

भूकम्पीय जोखिमबाट हुने क्षति न्यूनीकरणका लागि कृत्रिम घटना अभ्यास

१६ कार्तिक २०७९, बुधबार
भूकम्पीय जोखिमबाट हुने क्षति न्यूनीकरणका लागि कृत्रिम घटना अभ्यास

कैलाली । धनगढीमा भूकम्पीय जोखिमबाट हुने क्षति न्यूनीकरणका लागि कृत्रिम घटना अभ्यास कार्यक्रम सम्पन्न भएको छ ।
सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालय र शहरी विपद् पूर्व तयारी परियोजनाको संयुक्त आयोजनामा मंगलबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव मदनसिंह धामी प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा उनले सिकाईलाई समय अनुसार सुधार गर्नु पर्नेमा जोड दिए । समय अनुसार सुधार नगरिए त्यसले हाम्रो समाजमा नकारात्मक असर पार्ने भएकाले कृत्रिम घटना अभ्यास अत्यन्त व्यवहारिक रहेको उनले बताए ।
यस्तै, सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका निमित्त सचिव विष्णुदत्त अवस्थीले यो कार्यक्रमले अन्तर समन्वयमा सहयोग पु¥याउने बताए । सुदूरपश्चिम भूकम्पको उच्च जोखिममा रहेको उल्लेख गर्दै उनले ‘ग्लोबल वार्मिङ्ग’ का कारण यो प्रदेशले बाढी पहिरोजस्ता प्राकृतिक प्रकोपको पनि सामना गरिरहेको बताए ।‘त्यसकारण प्रकोप आइसकेपछि द्रूत गतिमा उद्धार, राहतको काम होस, समन्वय होस भनेर यो कार्यक्रम गरिएको हो’, अवस्थीले भने । प्रदेशको हकमा आन्तरिक मामिला तथा कानून मन्त्रालयले विपद् व्यवस्थापनका लागि काम गर्दै आएको अवस्थीले बताए ।
कार्यक्रममा गृहमन्त्रालयका पूर्व सचिव शङ्कर कोइराला, कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका डा.डिजन भट्टराई, संयुक्त राष्ट्र सङ्घीय प्रदेश समन्वय सम्पर्क निकाय प्रमुख बैजन्ती गिरी सिंह लगायतको उपस्थिति थियो ।
कार्यक्रममा भूकम्प आइसकेपछि विभिन्न सरोकारवाला निकायले गर्नुपर्ने कार्यकाबारेमा कृत्रिम अभ्यास गरिएको थियो । यसैगरी, प्रादेशिक विपद् प्रतिकार्य कार्यढाँचा पनि प्रस्तुत गरिएको थियो ।
रासस