धनगढी । आगन्तुक चराहरु जाडो छल्न नेपाल आउने क्रम जारी रहेको छ । हिउँदको समयमा नेपालमा नियमित आउने आगन्तुक चराहरु धेरै जसो आइसकेको र आउने क्रम डिसेम्बरसम्म जारी रहने चरा विशेषज्ञ डा.हेमसागर बरालले बताए । उनका अनुसार यो समयमा आउने चरा जाडो छल्न लामो दूरीको यात्रा गरी नेपाल आउने गर्छन् ।
‘यसरी नेपाल आउने चराहरुको बासस्थान नयाँ हुने र प्राकृतिक तथा मानविय शिकारको अत्याधिक जोखिम हुने गर्छ’, विशेषज्ञ डा.बरालले भने–‘हिउँदको समयमा चिसो छल्न र ग्रीष्ममा बच्चा कोरल्न चराहरु नेपालमा आउँछन्, ऋतुअनुसार बसाइँसराई गरी नेपाल आउने चराहरु मध्ये हाँस प्रजातिका चरा, सिलसिलिया, ख्यालख्याले महाचिल जस्ता चराहरु धेरै संकटमा छन् । यिनीहरुको संख्या वर्षेनी घट्ने क्रममा रहेको छ ।’ घट्ने क्रममा रहेका चराहरुको बास स्थान बिग्रनु, चोरी शिकारी, करेन्टलगाएर ठूलो संख्यामा चरालाई मार्ने, विषादीको प्रयोग, जलवायु परिवर्तन जस्ता कारणहरु मुख्य रहने गरेकाले वर्षेनी घट्ने चराको संख्या बढेको उनले बताए ।
अनुकूल मौसम, सुरक्षित बास स्थान, चरन, प्रजननका लागि चराहरू एक ठाउँबाट अर्को ठाउँमा बसाइँ गर्छन् । ‘नेपालको धेरै अग्लो ठाउँमा पनि माछा पाइने गरेको छ, यसको कारण पनि चरालाई जान्छ’, डा। बरालले भने–‘चराले खाएको माछामा फूल हुन्छ, त्यो फूल राम्रोसँग नपच्दा चराको दिसा पानीमा पर्यो भने माछाको जन्म हुन्छ ।’ यसरी चराले एक ठाउँबाट अर्को ठाउँमा वनस्पतिलगायत जीव, जन्तु सार्न मद्दत गर्छ ।
प्राकृतिक हिसाबले चरा वातावरणीय उच्च सूचकको रुपमा रहेको डा.बरालले बताए । ‘तराईको आदिवासी थारुलाई नै उदाहरणको रुपमा लिन सकिन्छ जुन समुदाय, प्रकृतिसँग एकदम नजिक छ । जसको लागि माछा नभइ नहुने प्रजाति हो, यसको गुण सार्ने काम पनि चराले गर्दै आएको छ ।’ माछालाई थारु समुदायको विवाहमा शुभ संकेटको रुपमा प्रयोग गरिने र माछा नभइ विवाह नहुने उनले बताए । डा. बरालका अनुसार नेपालमा करिब नौ सय प्रकारका चरा, दुई सयभन्दा बढी प्रजातिका माछा र सय भन्दा कम प्रजातिका भ्यागुता छन् । यिनीहरु मध्ये चराको संख्या नै धेरै रहेको र मानव जिवनमा चराको भूमिका पनि धेरै रहेको छ ।
‘यी चराहरु वर्ष भरि नेपालमा बस्दैनन्’, उनले भने । ‘अन्य देशबाट बसाइँ गरेर नेपाल आउँछन् भने यहाँका रैथाने चराहरु अन्त जान्छन् । यसरी वर्षौंदेखि चराको बसाइँसराई हुँदै आएको छ ।’
खास गरी हिउँदको समयमा उत्तरी भू–भागमा अत्यधिक चिसो र भारी हिमपात हुने भएकाले जाडो छल्न रुस, चीन, मंगोलिया, यूरोप, कोरिया र तिब्बतीबाट चराहरु नेपालमा आउने गरेको उनले बताए । हिउँदमा आगन्तुक चरा नेपाल आउने क्रम भदौ मध्यदेखि पुस मध्यसम्म रहन्छ र चैतसम्म आफ्नो स्थायी बसोबासमा प्रजनन्का लागि फर्किसक्ने हुन्छ भने ग्रिष्माकालीन आगन्तुक चराहरु फेब्रुअरीदेखि आगस्टसम्म रहन्छन् यिनीहरु करिब छ महिनाको बसाइपछि आफ्नै ठाउँमा फर्किेने गरेको डा। बरालको भनाइ छ ।
सुदूरपश्चिममा कैलालीस्थित घोडाघोडी ताल, कञ्चनपुरस्थित पुरैनी ताल, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेको सिमसारमा पनि आगन्तुक चरा आउने गरेका छन् । नेपालमा सिमसार क्षेत्र धरै रहेकाले हिउँदमा आगन्तुक चरा गर्मीयामको शुरूआतसँगै आफ्नो बास स्थान फर्किसक्दा फेरि दक्षिणी मुलुकहरू भारत, श्रीलंका र अफ्रिकाबाट हजारौं ग्रीष्मकालीन आगन्तुक चरा नेपाल आइपुग्ने बताए । उनका अनुसार नेपाल चराको लागि मध्य एसियाली उडान मार्गमा अवस्थित छ । चराको बसाइँसराइले मानिसको पारिस्थितिक प्रणाली, राष्ट्र र संसारलाई जोडेको छ । चराको प्रजननका लागि नेपालको हावापानी उपयुक्त छ ।
पश्चिम टुडेबाट