धनगढी, १४ जेठ । थारु समुदायमा प्रचलित भलमनसा प्रथा सम्बन्धी कानुनी व्यवस्थाका लागि सुदूरपश्चिम प्रदेश सरकारले बरघर/भलमनसा ऐन निर्माण गर्न थालेको छ ।

सरकारले बरघर र भलमन्सा प्रथाको संरक्षण, प्रवद्र्धन एवम् विकास गर्ने उद्देश्यले यो ऐन बनाउन लागेको हो । ऐन निर्माणका लागि प्रदेश सरकारले सुदूरपश्चिम प्रदेश बरघर र भलमनसा प्रथा संरक्षण तथा विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा टेबुल गरिसकेको छ ।
सुदूरपश्चिम प्रदेशमा बसोबास गर्ने आदिवासी थारु जातिभित्र परम्परादेखि प्रचलनमा रहेको बरघर र भलमनसा प्रथाको संरक्षण, प्रवद्र्धन र विकास गर्न प्रथाजनित साङ्गठनिक प्रणालीको क्षेत्राधिकार र कार्यप्रक्रिया व्यवस्थित गर्न वाञ्छनीय भएकाले यो ऐन बनाउन लागेको जनाइएको छ । यसले प्रथासंग सम्बन्धित विभिन्न खेल, परम्परा र साँस्कृतिक प्रचलनहरुको नियमनका लागि कानुनी व्यवस्था गर्ने बताइएको छ ।
कला, संस्कृति, संस्कार जोगाउने जिम्मा प्रदेश सरकारको रहेको सामाजिक विकासमन्त्री मेघराज खड्काले बताए । बरघर र भलमनसा प्रथा संरक्षण तथा विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक निर्माण गर्दै गर्दा सरकारले सम्बन्धित समुदायका अगुवा, यस विषयमा अध्ययन गरेका अध्ययेता लगायत धेरैसंग छलफल गरेको उनको भनाइ छ । बरघर र भलमनसा प्रथाले सामाजिक कार्यमा लगनशीलता, एकता, सबैको सहभागिता र लोकतान्त्रिक पद्धति अङ्गालेको मन्त्रीले उल्लेख गरे । यो प्रथाले प्रदेशको विकासमा टेवा पु¥याउने भएकाले विधेयकलाई अगाडि बढाएको उनको भनाइ छ ।

यो ऐनले बरघर र भलमनसा प्रणाली तथा भुरा खेलसम्बन्धी व्यवस्था गर्दै छ । आदिवासी थारू जातिको बसोबास रहेको प्रत्येक गाउँमा एउटा बरघर भलमनसा प्रणाली रहने विधेयकमा उल्लेख छ । बरघर र भलमनसा प्रणालीभित्र बरघर वा भलमनसा, चिरक्या, अगरिया÷अघरिया, चौकीदार, गुरुवा र केसौका पद रहने जनाइएको छ ।
भुरा खेलबाट सर्वसहमतिका आधारमा पदाधिकारीको चयन हुने छ । सहमति हुन नसकेमा मतदान प्रक्रियाद्वारा सबैभन्दा बढी मत ल्याउनेलाई पदाधिकारी चयन गरिने विधेयकमा उल्लेख छ । भुरा खेलमा राजनीतिक दलको प्यानल बनाई उम्मेदवारी दर्ता गर्न र उम्मेदवार छनोट गर्न नपाइने विधेयकमा उल्लेख छ । पदाधिकारी चयन गर्दा उपलब्ध भएसम्म कम्तीमा ३३ प्रतिशत र सो सङ्ख्या उपलब्ध हुन नसकेमा कम्तीमा एक जना महिलाको प्रतिनिधित्व गराउनुपर्ने जनाइएको छ ।
भुरा खेलबाट चयन हुने पदाधिकारीको अवधि एक वर्ष रहने र पदावधि पूरा भएपछि सहमति अनुसार पुनः चयन गर्न सकिने विधेयकमा उल्लेख छ । भुरा खेलको बैठक प्रत्येक वर्षको माघ महिनामा हुने जनाइएको छ तर कुनै कारणवश पदाधिकारीको पद रिक्त भएमा पदाधिकारी चयन गर्ने प्रयोजनका लागि भुरा खेलको बैठक जुनसुकै समयमा बस्न बाधा नहुने उल्लेख छ । भुरा खेल बरघर भलमनसा प्रणालीको सर्वोच्च अङ्ग हुने विधेयकमा उल्लेख गरिएको छ ।