कैलाली । कैलालीको कैलारी गाउँपालिकाले किसानलाई सतप्रतिशत अनुदानमा गहुँको बीउ उपलब्ध गराउने भएको छ ।
सो गाउँपालिकाको कार्यपालिका बैठकले बाढी प्रभावित किसानलाई सतप्रतिशत अनुदानमा गहुँको बीउ उपलब्ध गराउने निर्णय गरेको हो । कात्तिक पहिलो साता आएको बेमौसमी बाढीले सो गाउँपालिकामा किसानको धानबालीमा ठूलो नोक्सान गरेको थियो । धानबालीमा भएको क्षतिको पूर्ण विवरण सङ्कलनको कार्य जारी रहेको जनाइएको छ ।
गाउँ कार्यपालिकाको निर्णय अनुसार किसानलाई राहत नदिएर हिउँदे बालीको बीउ सतप्रतिशत अनुदानमा उपलब्ध गराउने गाउँपालिकाको कार्यालयले जानकारी दिएको छ । बैठकले १० कट्ठासम्म धानबालीमा क्षति भएको किसानलाई ४० केजी गहुँको बीउ पूर्ण अनुदानमा दिने निर्णय गरेको छ ।
यसैगरी, १० कट्ठादेखि एक बिघा जमिनमा धानबाली नोक्सान भएका किसानलाई ८० केजी गहुँको बीउ दिइने गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर ७ का वडा अध्यक्ष कमलप्रसाद चौधरीले जानकारी दिए । यस्तै, एकदेखि दुई बिघा जमिनको धानबाली नोक्सान भएका किसानलाई १२० केजी र दुई बिघाभन्दामाथि जग्गाको धानबाली नोक्सान भएका कृषकलाई सतप्रतिशत अनुदानमा २४० केजी गहुँको बीउ उपलब्ध गराइने जनाइएको छ ।
मकै र चैते धान खेती गर्ने किसानलाई पनि सतप्रतिशत अनुदानमा बीउ उपलब्ध गराउने निर्णय भएको प्रवक्ता चौधरीले जानकारी दिए ।