७ फाल्गुन २०८१, बुधबार February 19, 2025

थारु पहिचानसँग जोडिएको सख्या नाच र दसैँ पर्व

२० आश्विन २०८१, आईतवार
थारु पहिचानसँग जोडिएको सख्या नाच र दसैँ पर्व

मानबहादुर चौधरी ’पन्ना’
परिचयः
सख्या नाच थारु समुदायमा मात्र नाचिने मौलिक नाच हो । थारु समुदायमा नाचहरुमध्ये यो नाच समयको हिसाबले सबैभन्दा लामो अवधिसम्म नाचिने नाच हो ।

सख्या नाच प्राय हरेक वर्षको दसैँको अगाडि कृष्णा अष्टमी अटवारी पर्वपछि सुरु भइ दसैँ तिहारसम्म नाचिने संस्कृति हो ।कहिलेकाही चाहिँ दसैँ आउनुभन्दा अगाडि करिब एक हप्ता अगाडिबाट पनि नाच सुरु गरिएको पाइन्छ ।

यस सख्या नाचमा गाइने पौराणिक विषयवस्तुमा आधारित गीत रहेको छ । परम्परागत रुपमा थारु नाचिने सख्या नाचले चाडपर्वमा सबै उमेर समूहका नचनीहरु, मादलेहरु, गाउँका भद्रभलाद्मीहरु जम्मा भई सरसल्लाह गरी गुरुवा र केसौका (गाउँका तन्त्रमन्त्र जान्ने ) सँग पूजापाठ गरी गरी अगुवा मादले सहायक मादले(पछुवा) त्यसैगरी गीत गाउने नचनीहरुमा नचनीको मुख्य लिडर (मोह्रिन्या) र सहायक लिडर (पश्गिन्या) छानेर ठूलै समूहमा नाचिने नाच हो ।

चाडपर्व, संस्कृति मानिसहरूको सामूहिक जीवनशैली हो । संस्कृतिले कुनै राष्ट्र, जाति वा समुदायको सामाजिक जनजीवन, आर्थिक अवस्था, राजनीतिक चालचलन, खानपिन,पहिरन,चिन्तन मनन आदि अनेकन पक्षलाई समेट्दछ ।

वास्तवमा चाडपर्वले समुदायलाई खुशी, रौनकता र चम्पन गराउने काम गर्दछ । थारू जातिको अलग पहिचान दिने खालका आफ्नै भाषा, धर्म, संस्कृति एवम् सामाजिक चालचलन, रीतिरिवाजहरू छन् ।

थारू जाति नेपालका मूल आदिवासी हुन् । थारु जातिको नेपालको तराई तथा भित्री मधेसमाकरिब २५ जिल्लामा बसोबास रहेको छ । थारु जाति समुदायमा कला, संस्कृतिमा निकै धनी मानिन्छ ।

थारु जातिको आफ्नै भाषा, कला, साहित्य,इतिहास, वेशभूषा, संस्कार, रीतिरिवाज, चालचलन, संस्कृति, चाडपर्व, रहनसहन नाचगान प्रशस्त छन् ।

थारु समुदायमा चाडपर्व, मौसम, परिवेशअनुसार विभिन्न नाच नाच्ने चलन रहेको छ । जस्तै, बडा दसैँमा सख्या नाच, माघी पर्वमा मघौटा, नाच, हुर्डङ्ग्वा नाच, छोक्रा नाच, महोट्या नाच, बर्का नाच आदि धेरै नाचहरु नाच्ने गर्छन् ।

थारु जाति समुदायमा नाचिने विभिन्न नाचहरुमध्ये सख्या नाच विशेष महत्त्वपूर्ण नाच हो । बर्षा यामको खेतीपाती सकेपछि भाद्र महिनाको कुशे औसी पछिको पहिलो आइतबार थारु समुदायका पुरुषहरुले निराहार ब्रत बसी मनाइने अट्वारी पर्व मानिसके पछि यो नाच नाच्न सुरु गरिन्छ ।

यो नाच विशेष दुई समूहमा विभाजन गरेर नाचिन्छ । यो नाच ठुलो सङ्ख्यामा नाचिने हो । यस नाचमा करिब २० देखि १०० जनाको हाराहारीमा नाचिन्छ ।

त्यसैले यो नाच नाच्दा भूतप्रेत नलागोस्, सबै नचनी, मादले टोलीलाई सुरक्षा होस् भनी नाच्नुभन्दा अगाडि थारु गुरुवाद्वारा गुरै गरेर देवी देवतालाई सम्झेर मात्र नाचको सुरुवात गरिन्छ ।

पहिले पहिले करिब दुईदेखि तीन महिनासम्म लामो समयसम्म नाचिने गरिन्थ्यो ।यो नाच हरेक साँझ करिब छ सात बजेदेखि राति दश एघार बजेसम्म बरघरको आँगनमा नाच्ने चलन हुन्छ ।

के छ सख्या गीतको आख्यानमा ?

खासमा यस गीतमा १५ वटा खण्ड र ३३ सय श्लोक छन् । जुन महाभारतकालीन कृष्ण भगवानका माता देवकी (जासु), बुवा वासुदेव (इसरु) ,कृष्ण (कान्हा), कंस, राधासँग सम्बन्धित छ । सुरु, दोस्रो र तेस्रो खण्डमा यो संसार उत्पत्तिसम्बन्धी सृष्टि हुँदा सबैभन्न्दा पहिला केके सिर्जना भए भन्ने आख्यान छ ।

सख्या नाच गीतमा संसारको सृष्टि कसरी भयो ? संसारकै सृष्टिसँगै सुरुमा पृथ्वीमा केके उत्पत्ति भए ? संसार सृष्टि भएपश्चात खेतिपातीको सुरुवात कसरी भयो ?मानव जातिले यस धर्तीमा कसरी जीवन सङ्घर्ष गरे भन्ने कुराको आख्यान यस नाच गीतमा पाइन्छ ।

चौथो, पाँचौँ, छैठौ र सातौँ खण्डमा जाासु (यशोदा)को सन्तान माग, दुई जिउँकि भएकी, गर्भवती जासुको स्याहार सुसार, सुडिनीको व्यवस्था आदिबारे गीतमा चर्चा गरिएको पाइन्छ भने आठौँ, नवौँ र दसौँ खण्डमा कान्हा (कृष्ण)को जन्म भएको, बालकको नामाकरण जुराएको, कान्हा नाम जुरेको, कान्हाको बाल्यकाल बितेको सम्बन्धी गीतमा पाइन्छ ।

गीतको आख्यानमा एघारौँ र बाह्रौँ खण्डदेखि कान्हा लक्का जवान हुन थाल्छ र राधासँगको मायाजालमा पर्दै गएको प्रसङ्ग अन्तर्गत राधाले दूध लिन जाँदा, घर लिप्ने माटो लिन जाँदा, पानी लिन जाँदा विभिन्न समय राधासँग जिस्किने, माया पिरतीको कुरालाई यस खण्डमा आएको पाइन्छ ।

त्यसैगरी तेह्रौ खण्डमा कान्हाले आफ्नो घर छोडेर निकै कष्टपूर्ण यात्रामा निस्कनु पर्ने स्थिति आइपर्छ । कान्हाको लीला प्रसंशा सुनेर ईश्र्या र डाहा गरेर कंशले कान्हालाई कत्तिको योद्धा छ भनी परीक्षा लिनका लागि चुनौतीपूर्ण सर्तमा पार्छन् ।

उनलाई हिमवत खण्डमा गएर सुन्दर हिमालयन फुल लिएर आउने चुनौती दिन्छन् । कान्हाले यो कुरा ससर्त स्वीकार गरी आफू त्यो काम गर्न तयार हुन्छन् तर घर परिवारका सदस्य आमा निकै चिन्तित हुन्छिन् ।

आमाले यस्तो काममा नजान आग्रह गर्छन् । तर उनी गएर सकुशल फर्किने आश्वासन दिदै आमालाई सान्त्वना दिन्छन् । आफ्नो गन्तव्यको लागि आफूलाई चाहिने विभिन्न हातहतियार, सामलतुमलको व्यवस्था गर्न लगाई एक्लै यात्रामा निस्कन्छन् ।

विभिन्न पहाड, जङ्घार, नदीनालासँग जुध्दै, बाटामा जङ्गली जनावर बाघ, भालु, चितुवा, साँप, विच्छी, अनेकन समस्यासँग सामना गरेर गन्तव्य बारी फुलुवार पुग्छन् । फूलहरु टिपेर ल्याउँछन् ।

यस्तो खतराजन्य ठाउँमा गएर फूल ल्याउन सक्ने भान्जाको साहस र वीरता देखेर कंश निकै अचम्मित हुन्छन् । त्यही फूल चढाएर आफ्ना कुल देवतालाई चढाएर पूजा गर्ने क्रममा कंश र कान्हाको लडाइमा कंशको बध गर्छन् ।

विजय गरेकोमा रगतको चन्दन लगाई उत्सव मनाउँछन् र राधालाई आफ्नो पत्नीसमेत बनाउछन् गीतको अन्त्य हुन्छ । गीतको आख्यानमा राधा र कान्हाको मिथक चाहिँ भिन्न छ ।

यस गीतमा राधालाई कंशको पत्नीको रुपमा वर्णित छिन् । तिनै राधासँग कान्हाको प्रेम हुन्छ र मामा कंशको बध गरी माइजूलाई आफ्नो पत्नी बनाएको पाइन्छ ।

सख्या नाचको तयारी

लामो समयसम्म नाचिने भएकोले यो नाच नाच्नुभन्दा अगाडि गाउँको मूली बरघ¥या (मटाँवा) को सरसल्लाहमा गाउँभरिका दाजुभाइ, दिदीबहिनीहरुबिच बैठक बसेर छलफल गरी कहिलेदेखि नाच्ने? नाच टोलीको मुख्य अगुवा मादले, दोस्रो मुख्य (पछुवा) मादले को बन्ने? नाच टोलीको महिला समूहको मुख्य लिडर (मोह्रिन्या), दोस्रो समूहको लिडर (पछ्गिन्या)को बन्ने ? आदि विविध विषयमा टुङ्गो लगाएर मात्र विधिवत रुपमा नाच्ने हो ।

गाउँमा छलफलबाट नचनी, मादले एवम् अन्य कलाकारहरुको निधो भइसकेपश्चात सोमबारको दिन पारेर गुरुवा केसौकाद्वारा सबैभन्दा गुरै गरिन्छ । सुरुको दिन नाच्ने युवा, युवती महिलाहरु जम्मा भई सबभन्दा पहिले विभिन्न देवीदेवतालाई सम्झिएर मात्र नाच सुरु गर्छन् ।

पूर्वबाट उदाउँदै गरेको सूर्य, पश्चिमको रमझम देवी, उत्तरतिर हरिकविलास देवता, दक्षिणमा शिव जगन्नाथ, आकाशका इन्द्र र चन्द्र,पातालको बासुकी नाग, त्यसैगरि गाउँको मूल साझा ठन्वाका भूइह्यार आदिलाई सम्झेर हाम्रो रक्षा गर्नु र गीत कण्ठ गराइ सरसरती आउने गराउनु भनी पुकारा गर्छन् ।

नाच सुरु हुनभन्दा अगाडि अगुवा मादले पछुवा मादलेले विशेष किसिमको देवी देवतालाई सम्झेर भिन्न तालमा मादल बजाउनुपर्छ । जसलाई झ्वाङ मर्ना या ट्रासन मर्ना भनिन्छ । त्यसपछि नाच सुरु गरिन्छ ।

नाचमा उपस्थित युवा, युवती, महिला सबैले मादलको तालमा पैया नाच नाचिन्छ । फरक फरक ढङ्गले नचाउन सकिने पैया नाच दर्जनौ आइटमका हुन्छन् ।एउटा गीत गाउने पैँया नाचबाहेक दर्जनौ पैँया नाच नाच्दा गीत गाइदैन । मादलको तालमा सामूहिक रुपमा मुजुरा बजाउँदै आङ्गिक अभिनय, खुट्टाको ताल मात्र मिलाएर नचनीहरु नाच्दछन् ।

यस्तो पैँया नाच बिचबिचमा नाचिन्छ भने मूल गीतमा भने दुई समूहमा बाँडेर मादलको तालमा दुबै टोलीका नचनीहरु पालैपालो गीत गाउँदैनाच्ने गरिन्छ । जुन कृष्णको गाथा रहेको महाभारतकालीन कृष्ण, राधा र कंशको विषय केन्द्रित पौराणिक ग्रन्थमा आधारित गीत गाइन्छ ।

हरेक दिन सरस्वती बन्दना जस्तै सरस्वती देवीको सम्ह्रौती गाएर यो नाच नाचिन्छ । दुई समूहमा महिलाहरु बाँडिएर गीत गाउँदै मादलको तालमा नाचिने नाच देउदा नाचको झैँ माला जोडिएको हुन्छ, बिचमा मादलेको टोली हुन्छ । नचनी महिलाहरुको जुन समूहले गीत गाइरहेका छन् त्यही समूहको नजिक गएर मादलेहरु मादल बजाउने गरिन्छ ।

यस नाचमा चार पाँचदेखि दर्जन जति मादल बजाउनेहरु हुन्छन् । सामूहिक सँगै मादल बजाउने भएकाले अगुवा मादलेले ताल काट्दा हाँ भन्ने बोली लगाउनुपर्छ अनि त्यही बोलीको आधारमा अन्य मादलेहरु पनि सँगै मादलको ताल काट्छन् । यो नाच नाच्दा एकै प्रकारको गीत गाउने भएकाले बिच बिचमा मनोरञ्जनात्मक पैया नाच नाचिन्छ ।

हरेक नाचको आआफ्नो विशेषता हुन्छन् । सख्या नाच एउटा सामूहिक रुपमा नाचिने ठुलो नाच भएकोले बडा दसैँको फूलपातीको दिनदेखि गाउँको दहित थरका थारुको आँगनमा पनि नाचिन्छ ।

त्यसपछि गाउँको सबैको आँगनमा नाच्ने चलन छ । विशेष गरेर गाउँको गन्नेमान्नेको घरमा सम्मानका लागि पनि नाच्ने प्रचलन रहेको पाइन्छ । दसैँ पर्वलाई हर्षोल्लास बनाउने, रमाइलो र चम्पन गराउने काम यो नाचले गरेको हुन्छ ।

यो नाचमा बुढापाकादेखि ससाना बालबालिकाहरुसमेत सहभागी हुने भएकाले सबैको उपस्थितिले गाउँमा रौनकता थपिएको हुन्छ । बडा दसैँमा थारुहरु अष्टमीको दिन आफ्ना पितृहरुलाई ढिकुरी पूजा गरी आफ्ना देवी देवताहरुलाई चढाउँछन् ।

सोही दिन बरघर (मटाँवा) को घरमा रातभरि नाचेर बिहान गराउने भन्ने नियम हुन्छ । त्यो दिन नचनी युवा युवतीहरु निकै सजधजका साथ रातभरि नाच्छन् ।

भाले बासेको डाको सँगै केही युवा र युवतीहरुले अघिल्लो दिन पूजापाठ भेँडो गुनी (देवता) लाई छुट्याएको रक्सि उठाउने चलन हुन्छ । सबै घरबाट उठाएर ल्याएका प्रसाद स्वरुपको रक्सि सामूहिक रुपमा खाने गर्छन् ।

दसैँको महानवमीको दिन बिहान आआफ्ना कुल देवताहरुलाई पूजापाठ गरेको फूल, अछता, पाती एवम् कुल देवतालाई प्रसाद स्वरुपम चढाएका विभिन्न परिकारसहित नजिकैको नदी वा खोलामा सेलाउन जाने गर्छन् ।

उक्त दिन सख्या नाच टोली महिला, युवतीहरु विशेष वेशभुषा, गरगहनामा सजिएर पितृहरुको भाग नजिकको नदीमा सेलाउन जाँदा सबै गाउँले सँगे जाने गर्दछन् ।

त्यो दिन नदीतिर जाँदा सख्या नाचको टोली दुई लाइनमा आवद्ध भई नाच्दै नाच्दै जान्छन् र ठुलो चौरमा फरक फरक शैलीमा पैँया नाच नाच्छन् ।

भोलि पल्ट पनि दसैँको टीकाको दिन पनि युवा युवतीहरु बरघरको आँगनमा दिउँसोको समयमा नाच्ने गर्दछन् । यसरी सख्या नाच भदौबाट सुरु गरेर तिहारसम्म नाच्ने लामो नाच हो ।

नाचको अन्तिम चरणतिर पहिला सम्झिएका सम्पूर्ण देवी देवतालाई गीतमार्फत आआफ्ना थानमा बस्न आग्रह गर्दै समाप्ती गरिन्छ । नाचको अन्तिम दिनमा पनि गुरुवा र कसौका (सहायक गुरुवा) ले पुनः गुरै (विशेष पूजापाठ) गर्छन् ।

सोही पूजापाठका लागि नचनीहरु विशेष दिन पारेर खोलाबाट माछा मारेर ल्याएका हुन्छन् । खाने परिकारहरुको जोहो गरि पकाइएको हुन्छ । नाच सकेपछि त्यो दिन सामान्य खुवाइपिवाइ गरि समापन गरिन्छ ।

निष्कर्षः

सख्या नाच ठुलो समूहमा नाचिने भएकोले प्राय गाउँको सबैको सहभागिता रहेको हुन्छ । नाच नाचिसके पछि सबैले सुखानी दुखानी बिर्साउनका लागि कुनै विशेष दिन तोकेर भोज खाने चलन छ । जसलाई ख्यारा खैना भनिन्छ ।

यसको लागि नचनी समूहका मुख्य टोली प्रमुखहरु गाउँको घरघरमा नाच्दा दान दक्षिणा पनि संकलन गरेर राखेका हुन्छन् । संकलित चामलको जाँड बनाउने र उठेको रकमबाट सुँगुर, बँगुर किनेर भोज भतेर गर्छन् ।

त्यो ख्यारा खाएको दिन सबैले मिठो परिकारसँै खानपिन गरेर छोक्रा नाचेर रमाइलो गर्ने गरिन्छ । सख्या नाच थारु समुदायमा नाचिने मुख्य नाच हो । वर्तमान समयमा यो नाच लोप हुँदै गइरहेको छ ।

थारु जाति समुदायको पहिचानसँग जोडिएको यो नाचलाई संरक्षण, संवर्धन गर्न जरुरी छ । यस्ता खालका नाचहरु प्रवर्धन गर्न थारु जातिका अगुवाहरु स्वयम् सक्रिय हुनुका साथैै स्थानीय तह तथा राज्यले ध्यान दिन आवश्यक छ ।

नेपालको हरेक जातजातिको कला, संस्कृति देशकै संस्कृति हो भन्ने कुराको बोध हुनुपर्छ ।

चौधरी, थारु संस्कृतविद् तथा अनुसन्धाता हुन् ।