१० चैत्र २०८१, सोमबार March 24, 2025

कैलाली–३ सत्तारुढ–गठबन्धन उम्मेदवारको प्रतिबद्धता पत्र, कृषिलाई प्राथामिकता दिने

१४ कार्तिक २०७९, सोमबार
कैलाली–३ सत्तारुढ–गठबन्धन उम्मेदवारको प्रतिबद्धता पत्र, कृषिलाई प्राथामिकता दिने

सुखड । कैलाली निर्वाचन क्षेत्र नम्बर–३ बाट सत्तारुढ–गठबन्धनका उम्मेदवारहरूले आफ्नो संयुक्त साझा प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । प्रतिनिधि सभा सदस्यका उम्मेदवार कृष्ण कुमार चौधरी(कुन्दन) तथा प्रदेश सभा क्षेत्र ‘क’ का उम्मेदवार खेमराज डगौरा थारु र प्रदेश सभा क्षेत्र ‘ख’ का उम्मेदवार अमर बहादुर साउँदले पत्रकार सम्मेलन गरेर संयुक्त रुपमा घोषणापत्र सार्वजनिक गरेका हुन् ।
कैलाली क्षेत्र नम्बर नम्बर–३ लाई कृषि, पर्यटन, उद्योग वाणिज्य, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, भाषा, कला, संस्कृति र विविध रुपमा विकास गर्ने प्रतिबद्धता तीनै जना उम्मेदवारले गरेका छन् । यो क्षेत्रको प्रमुख समस्याका रुपमा रहेको डुबान, नदी कटान र सार्वजनिक जमिन अतिक्रमणको समस्या समाधान गर्नुका साथै दीर्घकालीन योजनामार्फत विकासलाई अगाडि बढाउने प्रतिबद्धतामा उल्लेख गरिएको छ ।
गठबन्धनका प्रतिनिधि सभा सदस्यका उम्मेदवार कृष्ण कुमार चौधरी(कुन्दन), प्रदेश सभा सदस्यका उम्मेदवार खेमराज डगौरा थारु, अमर बहादुर साउँदले यस क्षेत्रको डुबान समस्याको समाधान गर्ने, कटान रोक्न तटबन्ध गर्ने,सडक सञ्जालको विकास गर्ने, खानेपानी, शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रमा प्रतिबद्ध भएर काम गर्ने घोषणा गरेका छन् ।
प्रत्येक पालिकामा आवश्यक उपकरण तथा उच्च जनशक्तिसहितको कम्तीमा १५ शैयाको अस्पताल निमार्ण, २६ वटै वडामा आधारभूत स्वास्थ्य सेवा र एम्बुलेन्स सेवा उपलब्ध गराउने,जनतालाई सहुलियत दरमा विद्युत् उपलब्ध गराउने प्रतिबद्धता पनि उम्मेदवारले गरेका छन् । संयुक्त साझा प्रतिबद्धता पत्रमा उल्लेख गरिएका बुँदाहरू आफूहरूले चुनाव जितेपछि घोषणापत्र कार्यान्वयन गर्ने सत्तारुढ–गठबन्धनका उम्मेदवारहरूले प्रतिबद्धता जनाए ।