१३ बैशाख २०८२, शनिबार April 26, 2025

आधारभूत तहका शिक्षकलाई पाठ्यक्रममा आधारित क्षमता विकास तालिम

२६ आश्विन २०७९, बुधबार
आधारभूत तहका शिक्षकलाई पाठ्यक्रममा आधारित क्षमता विकास तालिम

धनगढी । आधारभूत तह (कक्षा १–३) को एकिकृत ढाँचाको पाठ्यक्रममा आधारित सात दिने शिक्षक क्षमता विकास तालिम बुधबारदेखि धनगढीमा सुरु भएको छ ।
सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाको आयोजनामा सामाजिक विकास मन्त्रालय शिक्षा तालिम केन्द्र दिपायल डोटीको सहकार्य तथा कैलारी गाउँपालिका, पिसविन नेपाल कैलाली (शान्तिदिप) र युनिसेभको संयूक्त सहयोगमा ‘नेपालमा प्रारम्भिक बालशिक्षा र विकासको सवलीकरणका लागि प्रारम्भिक सिकाई तथा विकास मापदण्ड कार्यान्वयन परियोजना’ बाट शिक्षक क्षमता विकास तालिम दिइएको हो । तालिमको उदघाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि रहेका कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी संख्या घट्ने क्रमसँगै विद्यालय समायोजन पनि भइरहेको बताएका छन् । शिक्षा क्षेत्रमा कसरी सुधार गर्न सकिन्छ, गम्भीरताका साथ लागि रहेको उनले बताए ।


अहिले मुख्य जिम्मेवारी शिक्षकहरुको छ,’ उनले भने, ‘सामुदायिक विद्यालयमा निःशुल्क रुपमा पठनपाठन हुन्छ भन्ने गर्छौ । तर सरकारको लगानी हेर्दा सामुदायिक विद्यालय महगों शिक्षाको रुपमा देखिन्छ ।’
उनले भने,‘ गाउँपालिका भित्र रहेका सबै विद्यालयको समस्या के छ, हामीले सबै विद्यालयबाट रिर्पोट संकलन गरिएका छौं । कुन विद्यालयमा कस्तो समस्या छ हामीहरु एकदमै सचेत छौ ।’
गाउँपालिकाले शिक्षा क्षेत्रमा लगानी गर्न एकदमै जोड दिएको अध्यक्षले बताए । पालिकाभित्र रहेका विद्यालयमा स्थानीय भाषाको कोटा अझै थप्नतिर लागेको उनले बताए ।
शिक्षकको भूमिका अहम रहेको बताउदै उनले बाल विकास (इसिडी) र कक्षा १ मा बढी ध्यान दिनु पर्ने बताए । ‘शिक्षाको जग भनेको शिक्षक हो, शिक्षक आफै कम्जोर भए जग बलियो बनाउन सकिदैन’, उनले भने । शिक्षामा सुधार गर्न सकिदैन । कैलारी गाउँपालिकामा चार वटा विद्यालय भन्दा बाहिर इसिडी कक्षा संचालनमा रहेको पनि गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले बताए ।
कार्यक्रममा कैलारी गाउँपालिकाका शिक्षा शाखा प्रमुख गणेश प्रसाद मिश्र विद्यार्थीको भविष्य उज्यालो तर्फ लैजाने जिम्मेवारी शिक्षकको हात रहने बताए । उनले भने–‘विद्यालय जाने साना बालबालिकालाई शिक्षकले जे भने उही सिक्ने भएकोले बाल विकास (इसिडी) र कक्षा १ मा बढी ध्यान दिनु पर्छ ।’


एकिकृत ढाँचाको पाठयक्रममा आधारित शिक्षक क्षमता विकास तालिम संचालनको उद्देश्यबारे सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाका कटक सिजापतिले जानकारी दिएका थिए । उनले यो तालिम आधारभूत तह कक्षा १–३ को पाठयक्रमको आधारणबारे जानकारी गराउन, विषयगत सक्षमता र सिकाई उपलब्धीबारे स्पष्ट गराउन, विषय क्षेत्र अनुसार एकिकृत रुपमा शिक्षण सिकाई क्रियाकलाप संचालन गर्न सक्षम हुने, विद्यार्यी सिकाई लेखाजोखा प्रणालीबारे बुझाई प्रष्ट गर्न, विद्यार्थी केन्द्रित शिक्षण विधि तथा शैक्षिक सामाग्री निर्माण र प्रयोगबारे क्षमता विकास गर्न तालिमको आयोजना गरेको बताए ।
तालिम उद्घाटन कार्यक्रम पिसविन नेपाल कैलालीका कार्यसमिति सदस्य हर्कबहादुर ओलीको अध्यक्षतामा भएको थियो । संचालन पिसविन नेपाल कैलालीका जिल्ला परियोजना संयोजक शान्ति मगर र स्वागत मन्तव्य पिसविन नेपाल कैलालीका तालिम अधिकृत जानकी सिंहले गरेका थिए ।
कैलारी गाउँपालिकाका ४४ वटा विद्यालयका शिक्षक, शिक्षिकाहरुको सहभागिता भइरहेको एक हप्ते तालिममा सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाका तालिम अधिकृत रमा थपलिया र कटक सिजापतिले प्रशिक्षण दिइरहेका छन् भने सहजीकरण पिसविन नेपाल कैलालीका जिल्ला परियोजना संयोजक शान्ति मगरले गरिरहेका छन् ।