११ माघ २०८१, शुक्रबार January 24, 2025

खेतमै उम्रिन थाल्यो धान, उत्पादन घट्ने चिन्तामा किसान

२५ आश्विन २०७९, मंगलवार
खेतमै उम्रिन थाल्यो धान, उत्पादन घट्ने चिन्तामा किसान

कञ्चनपुर । बुधवार देखी परेको अविरल वर्षका कारण धान खेती नष्ट हुने अवस्थामा पुगेको छ । पाकेर पहेंलपुर भएको धान वर्षाका कारण काट्न नपाएपछि बढी पाकेर बाला झर्न थालेका छन् भने कतिपय किसानले काटिसकेका धान भित्र्याउन नपाउँदा खेतमै उम्रिन थालेका छन् । यो समयमा कृषकहरू धान बाली भित्र्याउने चटारोमा हुन्थ्यो । अधिकांशले धान बाली भित्र्याई पनि सक्थे । तर यसपाला वर्षाका कारण खेतमा धान पाकेर पहेंलपुर भए पनि भित्र्याउन सकिएको छैन ।
दसैँको केही दिन अघि काटिएको धान अहिले पानीका कारण खेतमै उम्रिन थालेको कञ्चनपुरका किसान नवराज अवस्थीले बताए । यस्तै कञ्चनपुरकै भिमदत्त ११ भुजेलाका जनक धामीको गत वर्ष कात्तिक पहिलो साता आएको बेमौसमी वर्षाले एक बिघाको काटेको धान कुहिएको थियो । ‘गत वर्ष एक बिघा काटेको धान वर्षका कारण कुहियो , यस वर्ष पनि धान नकाटेरै बाला झर्न थाल्यो । खेतमै धान उम्रिन थाल्यो ” धामीले भने ।
कृषि ज्ञान केन्द्र कञ्चनपुरका अनुसार जिल्लाको दक्षिणी क्षेत्रमा धान बालीमा बढी क्षति भएको छ । पाकेको धान खेतमै ढलेर कुहिने र उम्रिने अवस्था आएको छ भने खेतहरू डुबानमा परेकाले पाकेको धान खेतमै उम्रिन थालेका कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख दिलबहादुर विष्टले बताए ।
‘धान खेतमै कुहिने अवस्था आइसकेको छ, धेरैजसो खेत डुबानमा परेको छ,’विष्टले भने ‘अझ पनि वर्षा नरोकिए सबै धान उम्रिनेछ जस कारण उत्पादनमा ठूलो ह्रास आउन सक्छ ।’ कञ्चनपुरमा ४८ हजार हेक्टरमा धान खेती हुने गरेको छ । यहाँ धानको उत्पादकत्व प्रतिहेक्टर ४ मेट्रिक टन छ । गत वर्ष झैँ यस पटक पनि उत्पादनमा ह्रास आउने अनुमान गरिएको छ ।
गत वर्ष धानको उत्पादकत्व दुई अढाई मेट्रिक टनमा झरेको थियो । कृषि ज्ञान केन्द्रका अनुसार दक्षिणी क्षेत्रको लालझाडी, बेलौरी, पुनर्वास र वेल्डाँडीमा बढी क्षति भएको छ । उक्त क्षेत्र धान उत्पादनका लागि अब्बल मानिन्छ । धान उत्पादनका लागि जिल्लाकै आधाभन्दा बढी भाग ओगटेको उक्त क्षेत्रमा कटान र डुबान पनि बढी हुने गरेको छ ।
लालझाडी, बेलौरी र पुनर्वास क्षेत्रमा अधिकांश धान खेतहरू डुबानमा परेका छन् । पाकेर ढलेको धान खेतमै उम्रिन लागेको ज्ञान केन्द्रका प्रमुख विष्टले बताए । उनले डुबानमा परेको धानको दानासमेत काम नलाग्ने बताए । धान बाली मात्रै नभई वर्षाले तरकारी खेतीमा पनि असर पु¥याएको छ ।
हिउँदे तरकारी उत्पादनमा पनि ह्रास आउने विष्टले बताए । अहिले हिउँदे तरकारी लगाउनुपर्ने बेला हो । तर वर्षाले तरकारी लगाउन नै नसकिएको र लगाएको पनि सुकेको विष्टले बताए । तोरीको उत्पादनमा पनि ह्रास आउन सक्ने देखिएको छ ।
धान भित्र्याउने बेलाको बेमौसमी वर्षाले गर्दा यसवर्ष धान उत्पादन घटने भएकाले यहाँका किसान चिन्तित छन् । किसान देवकी पन्तले यसवर्ष धान भित्र्याउने बेलामा आएको वर्षाले धानमा नोक्सानी गरेको बताईन् ।
‘चार दिनदेखिको वर्षाले बालामै धान टुसाउन लागेको छ धेरै ठाउँमा वर्षाले धान ढलेर कुहिन थालेको छ’ उनले भनीन् ‘गतवर्ष जस्तै यसवर्ष पनि धान उत्पादन घट्ने चिन्ता लागेको छ ।’
भीमदत्त नगरपालिका–९ का ललितमोहन अवस्थीले पनि गत वर्षजस्तै यसवर्ष पनि धानमा क्षति पुगेको बताए । ‘सुरुमा धानमा रोग देखिएर क्षति भयो र अहिले भित्र्याउने बेला वर्षाले क्षति पुगेको छ’ उनले भने ‘धानका बोट ढलेर खेतमा कुहिन लागेका छन् ।’
कञ्चनपुर कृषि ज्ञान केन्द्रका सूचना अधिकारी हरिदत्त जोशीले गत वर्षको बेमौसमी वर्षाका कारण धान उत्पादनमा कमी आएको र यसवर्ष पनि तीन दिनदेखिको लगातारको वर्षाले धानको उत्पादनमा कमी आउनेसक्ने जानकारी दिए ।
‘गतवर्ष कात्तिकमा आएको वर्षाले कञ्चनपुरमा १७ हजार हेक्टरको धानमा क्षति पु¥याएको थियो’ उनले भने ‘यस वर्ष पनि बेमौसमी वर्षा चलिरहेको छ धान उत्पादन घट्ने वा बढ्ने केही दिनपछि मात्रै थाहा हुन्छ ।’ जिल्लामा ४८ हजार आठ सय ९६ हेक्टर जमिनमा धान खेती गरिँदै आएको उक्त कार्यालयले जनाएको छ ।