२२ भाद्र २०८१, शनिबार September 7, 2024

कैलारीका बंगुरमा ‘क्लासिकल स्वाइन फिबर’ पुष्टि

१५ आश्विन २०७९, शनिबार
कैलारीका बंगुरमा ‘क्लासिकल स्वाइन फिबर’ पुष्टि

हसुलिया । कैलालीको कैलारी गाउँपालिकामा बंगुरमा क्लासिकल स्वाइन फिबर(बंगुरमा फैलने हैजा) पुष्टि भएको छ ।
वडा नम्बर १ रानामुडास्थित सम्झना पशुपति तथा तरकारी फर्मको बंगुरको नमुना परिक्षण गर्दा क्लासिकल स्वाइन फिबर पुष्टि भएको गाउँपालिकाका पशु सेवा शाखाका पशु चिकित्सक सुर्य प्रसाद चौधरीले जानकारी दिए ।
उनले भने–‘फर्ममा बंगुर बिरामी परेपछि चेकजाँचका लागि गाउँपालिकाका पशु सेवा शाखामा सम्पर्क गरेका थिए । हामीले बंगुरका परिक्षणका लागि खोरेत तथा सिमा विहिन पशु रोग अन्वेशन प्रयोगशाला चपली, बुढानिलकण्ठ काठमाण्डौमा पठाएका थियौं ।’
प्रयोगशालाको पत्र संख्या २०७९/०८० को चलानी नम्बर १२३, असोज १३ गतेको पत्र अनुसार उक्त फर्मका बंगुरहरुमा क्लासिकल स्वाइन फिवर पुष्टि भएको पशु सेवा शाखाका पशु चिकित्सक चौधरीले बताए ।
यसैबिच कैलारी गाउँपालिकाले बंगुरको मासु ओहोरदोहोर नगर्न नगराउने आग्रह गरेको छ । गाउँपालिकाके अध्यक्ष राजसमझ चौधरी क्लासिकल स्वाइन फिबर भाइरस पोजेटिभ देखिएकोले मरेका बंगुर, बाख्रा, कुखुरा लगायत मासुजन्य जनावरको मासु नखान आग्रह गरेका छन् ।
उनले भने–‘बढी जसो व्यक्ति घरमा पालिएका सुंगुरबंगुर, बाख्रा, माछा मरेपछि खाने गर्दछन् । अहिले क्लासिकल स्वाइन फिबर भाइरस पोजेटिभ देखिएको छ । त्यसबाट व्यक्तिको स्वास्थ्यमा धेरै असर पार्न सक्ने भएकोले सचेत हुन जरुरी रहेको छ ।’
यसै बिच बंगुरको मासु ओहोरदोहोर नगर्न नगराउन आग्रह गर्दै गाउँपालिकाले शुक्रबार सबै वडामा पत्रचार समेत गरेको छ ।
करिब दुई महिना यता मासुको प्रयोजनका लागि सञ्चालन गरिएका विभिन्न बंगुर फार्म र घरैमा पालिएका बंगुरको लक्षण हेर्दा ज्वरो आउने, चारो नखाने, छेर्ने, वान्ता गर्ने, कमजोर हुने र बिरामी भएको सातदेखि दस दिनमा मर्ने गरेको पाइएको छ ।
क्लासिकल स्वाइन फिबर स्वाइनको अत्यधिक संक्रामक भाइरल रोग हो जुन एक्युट, सबएक्युट, क्रोनिक वा लगातार रूपमा हुन्छ । तीव्र रूपमा रोग उच्च ज्वरो, गम्भीर अवसाद, बहु सतही र आन्तरिक रक्तस्राव, उच्च रोगिता, मृत्यु दर यसको विशेषता हो ।