७ फाल्गुन २०८१, बुधबार February 19, 2025

घोङ्घी बिक्री गरेर राम्रो आम्दानी

४ आश्विन २०८१, शुक्रबार
घोङ्घी बिक्री गरेर राम्रो आम्दानी

अविनाश चौधरी
धनगढी, ४ असोज । थारु समुदायको परम्परागत खान्की घोङ्घीको व्यापार बढेको छ ।
पछिल्लो समय गैरथारुसमेतले घोङ्घीको परिकार मन पराउन थालेपछि यसको व्यापारले उचाइ लिएको हो । घरमा खानदेखि लिएर होटलहरुमा तरकारी बनाएर आगन्तुकहरुलाई खुवाउनका लागि घोङ्घीको किनबेच भइरहेको छ ।
घोङ्घी धान खेतको दलदल, घोल, ताल, खोलानालामा प्राकृतिक रुपमा पाइने जलीय जीव हो । तर, यसको माग बढेसंगै पछिल्लो समय माछा पालन गरिएको पोखरीमा पनि व्यावसायिक रुपमा घोङ्घी पाल्न थालिएको छ । विभिन्न ठाउँमा पाइएका घोङ्घी सहर बजारमा ल्याएर बिक्री गर्न थालिएको छ ।
प्राकृतिक रुपमा पाइएका घोङ्घी बिक्री गरेर थारु समुदायका महिलाले राम्रो आम्दानी गर्न थालेका छन् । दैनिक ३०/३५ केजी घोङ्घी र घोङ्घाको व्यापार गरेर तीन हजारदेखि साढे तीन हजार रुपियाँसम्म आम्दानी गर्ने गरेको कञ्चनपुरको बेलौरी नगरपालिकास्थित पौलाहाकी सुमन चौधरीले बताइन् । उनले पौलाहाबाट ल्याएर धनगढीमा घोङ्घी र घोङ्घा प्रति केजी एक सय रुपियाँमा बिक्री गर्ने गरेको जानकारी दिइन् ।
“घोङ्घी, घोङ्घा गरेर एकदिनमा ३०/३५ केजी बिक्री गर्दै आएका छौं”, चौधरीले भने,“पहिले अलि बढी कमाइ हुन्थ्यो । अहिले भाउ बिग्रेर त्यति धेरै भएको छैन, तर एक जनाले दैनिक तीन हजारसम्म पैसा लैजाने गर्दछौं ।”
चौधरीका अनुसार पौलाहामा नदीले छोडेको घोलमा प्रशस्त मात्रामा घोङ्घी र घोङ्घा पाउने गरेको छ । त्यो सङ्कलन गरेर धेरै महिलाहरु बिक्रीका लागि धनगढी आउने गरेका छन् । “अहिले हामीहरु एक समूहमा सात जना घोङ्घी बेच्न आएका छौं”, उनले भनिन् ।
घोङ्घी र घोङ्घा दुवै उस्तै जलीय जीव हुन । घोङ्घी केही हद्सम्म सानो र घोङ्घा ठुलठुलो हुने गर्दछन् । थारु समुदायका मानिसले घोङ्घी र घोङ्घाको तरकारी सदियोदेखि खाँदै आएका छन् । समुद्री खाना अन्तर्गत पर्ने घोङ्घी र घोङ्घाबाट प्रशस्त मात्रामा पौष्टिक तत्व प्राप्त हुने गरेको बताइएको छ । ‘बलियो हुनु छ भने घोङ्घी खाउ’ भन्ने एउटा भनाइ पनि थारु समुदायमा प्रचलित रहेको छ ।
हिउँदमा तालतलैयामामात्रै कम मात्रामा पाइने घोङ्घी वर्षा याममा भने यत्रतत्रको पानीमा बढी पाइने गर्दछ । घोङ्घीको तरकारी अत्यधिक रुचाउने थारु समुदायका मानिसले खेतको दलदलदेखि तालमासमेत घोङ्घी खोज्ने गर्दछन् । विशेष गरेर महिलाले दिनभरि घोङ्घी खोजेर त्यसको तरकारी परिवारलाई खुवाउने गर्दछन् ।
सहरका होटलमा घोङ्घीको माग बढ्दै गएपछि पछिल्लो समय माछा पालक कृषकले माछा पोखरीमा घोङ्घीको व्यावसायिक पालन गर्न थालेका छन् । घोङ्घीले माछालाई कुनै पनि असर नगर्ने गरेका कारण उनीहरुले माछासंगै घोङ्घीसमेत पाल्न थालेका हुन । यसकार्यले दोहोरो फाइदा हुने गरेको माछा पोखरीमा घोङ्घी पाल्दै आउनु भएकी कैलारी गाउँपालिका–६ बेनौलीकी माछापालक कृषक प्रमिला चौधरीले बताइन् ।
यसवर्ष पोखरीबाट प्रति केजी १८० को दरले हालसम्म ४०/५० केजी घोङ्घी बेचेको उनले जानकारी दिइन् । “अझै एक पोखरीको घोङ्घी बिक्री गर्न बाँकी छ”, उनले भनिन् । घोङ्घी पोखरीमा राखेपछि हेरचाह वा स्याहारसुसारबिनै हुर्किने गरेको किसानको भनाइ छ ।

गैरथारुको रोजाइ
थारु परिकारको रुपमा परिचित घोङ्घीको तरकारी अचेल गैरथारुका रोजाइको परिकार बनेको छ । थारुले आफ्नै घरमा बनाएर खाने गरेकाले होटलहरुमा घोङ्घी खान गैरथारु बढी आउने गरेको धनगढीस्थित दहिटान घरका सञ्चालक वीरेन्द्र चौधरीले बताए । “हाम्रो यहाँ घोङ्घी खान थारु कम, गैरथारु बढी आउँछन्”, उनले भने । चौधरीले प्रति प्लेट एक सय रुपियाँमा घोङ्घीको तरकारी बिक्री गर्दै आएका छन् ।
धनगढीमा दहिटान घरसहित सैजन कटेजमा पनि घोङ्घीको परिकार बिक्री हुने गरेको छ । विभिन्न ठाउँमा सङ्कलन गरिएको घोङ्घीलाई होटल सञ्चालकहरुले किनेर आफ्ना ग्राहकलाई घोङ्घीको स्वाद चखाउने गरेका छन् ।