१२ चैत्र २०८१, बुधबार March 26, 2025

तालिम प्राप्त स्वास्थ्यकर्मी तथा सुचिकृत स्वास्थ्य संस्थाबाट मात्र गर्भपतन गराउन सुझाव

२२ भाद्र २०८०, शुक्रबार
तालिम प्राप्त स्वास्थ्यकर्मी तथा सुचिकृत स्वास्थ्य संस्थाबाट मात्र गर्भपतन गराउन सुझाव

धनगढी । सुरक्षित गर्भपतन सेवाका बारेमा सुदूरपश्चिमका सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गरिएको छ । कृपा नामक संस्थाको आयोजनामा शुक्रबार धनगढीमा नेपालमा सुरक्षित गर्भपतन सेवाका विषयमा यहाँका सञ्चारकर्मीसँग अन्तरक्रिया गरिएको हो ।
कार्यक्रमका सहभागीहरुले तालिम प्राप्त स्वास्थ्यकर्मी तथा सुचीकृत स्वास्थ्य संस्थाबाट मात्र गर्भपतन गराउन सुझाएका थिए । जहाँ पायो त्यहीँ गर्भपतन गराउँदा जोखिम बढेको भन्दै तालिम प्राप्त स्वास्थ्यकर्मी तथा सुचीकृत स्वास्थ्य संस्थाबाट गर्भपतन गराउन सुझाएका हुन् ।
नेपाल सरकारले सूचीकृत गरेको स्वास्थ्य संस्थामा तालिम प्राप्त स्वास्थ्यकर्मीबाट मात्र सुरक्षित गर्भपतन गराउनुपर्ने सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताए ।
“अनिच्छित गर्भ रहन गएमा महिलाको मञ्जुरीमा गर्भपतन गर्न पाइन्छ” उनले भने, “तर जहाँ पायो त्यहीँ गर्न पाइदैन । सुचीकृत स्वास्थ्य संस्थामा तालिम प्राप्त स्वास्थ्यकर्मीबाट मात्रै गर्भपतन गराउनु पर्दछ ।”
गर्भपतनका कारण हुन सक्ने जोखिमबाट जोगिनका लागि तालिम प्राप्त स्वास्थ्यकर्मीबाट सूचीकृत स्वास्थ्य संस्थामा मात्रै गर्भपतन गराउन आवश्यक रहेको कार्कीले बताए । गर्भपतन गराउनु पर्ने अवस्था सिर्जना हुन नदिनका लागि परिवार नियोजनका साधनको प्रयोगमा बढावा दिन जरुरी रहेको कार्कीले सुझाव समेत दिए ।
नेपालमा सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्यको अधिकारसम्बन्धी ऐनले गर्भवती महिलाको मञ्जुरीले १२ हप्तासम्मको गर्भपतन गराउन सकिने व्यवस्था गरेको छ । यसैगरी, गर्भपतन नगराए गर्भवती महिलाको ज्यानमा खतरा पुग्नसक्ने वा शारीरिक, मानसिक स्वास्थ्य खराब हुन सक्ने, बच्चा बिकलाङ्ग जन्मिने भनि इजाजत प्राप्त चिकित्सकको राय छ ।
महिलाको मञ्जुरी बमोजिम २८ हप्ताको गर्भपतन गर्नसक्ने कानुनी प्रावधान छ । जबरजस्ती करणी वा हाडनाता करणीबाट रहन गएको गर्भ, महिलालाई एचआइभी लागेको भएमा गर्भवती महिलाको मञ्जुरीले २८ हप्तासम्मको गर्भपतन गर्न सकिने प्रावधान रहेको छ । तर २८ हप्तासम्मको गर्भपतन गर्न सकिने व्यवस्थाले समस्या निम्त्याइरहेको सरोकारवालाको भनाइ छ ।
स्वास्थ्य सेवा विभागको पूर्व महानिर्देशक डा. लक्ष्मीराज पाठकले सुदूरपश्चिम प्रद्येशमा सुरक्षित गर्भपतन सेवा कार्यक्रम व्यवस्थापन निर्देशिका निर्माणका चरणबारे जानकारी गराएका थिए । उनले संघले नियम, विधी, प्रक्रिया नियमावली नबनाएकोले प्रदेश सरकारलाई काम गर्न समस्या भएको बताए । उनले ऐन संशोधन गर्न आवश्यक रहेको औँल्याएका थिए । साथै उनले गर्भपतनको व्यवस्थासम्बन्धी दुई वटा ऐन बाझिएकाले संशोधन गर्नुपर्ने सुझाव दिए ।
कृपा नामक संस्थाको आयोजना कार्यक्रम भएको थियो । कार्यक्रममा सो संस्थाका निर्देशक आनन्द तामाङले नेपालमा सुरक्षित गर्भपतन सेवाका सवालमा गर्नुपर्ने काम बारेमा प्रस्तुतिकरण गरेका थिए । यसैगरी, पत्रकार उद्धव पुरीले गर्भपतनको सवालमा समाचार लेख्दा पत्रकारले तस्बिर प्रयोगलगायत धेरै कुरामा ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।