२ असार २०८१, शनिबार June 15, 2024

एनएसजेएफ कैलालीलाई ‘निसर्ग हस्पिटल मिडिया कप’ फुटसल प्रतियोगिताको उपाधि

१४ आश्विन २०७९, शुक्रबार
एनएसजेएफ कैलालीलाई ‘निसर्ग हस्पिटल मिडिया कप’ फुटसल प्रतियोगिताको उपाधि

धनगढी । कैलालीको धनगढीमा भएको ‘निसर्ग हस्पिटल मिडिया कप’ फुटसल प्रतियोगिताको उपाधि खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) कैलालीले जितेको छ। आयोजकसमेत रहेको मञ्चले फाइनलमा चडेपानी ब्वााइज पत्रकार समूहलाई ३–२ ले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो।
फाइनलमा मञ्चका कप्तान प्रदीप पाठकले २ र महेन्द्र बमले १ गोल गरे। यस्तै चडेपानी ब्वाइजका राजेश चौधरीले २ गोल गरे। उपाधिसंगै मञ्चले नगद २५ हजारसहित ट्रफी र मेडल पायो भने उपविजेता चडेपानी ब्वाइज पत्रकार समूहले नगद १५ हजार नगदसहित ट्रफी र मेडलमा चित्त बुझायो।
प्रतियोगितामा सर्वाधिक गोलकर्ता खेलकुद पत्रकार मञ्च कैलालीका महेन्द्र बम, उत्कृष्ट खेलाडी सीताराम ओझा र उत्कृष्ट किपर चडेपानी ब्वाइज पत्रकार समूहका टंक कुँवर भए।
यसअघि आजै भएको सेमिफाइनलमा खेलकुद पत्रकार मञ्च कैलालीले नेपाल पत्रकार महासंघ कैलाली र चडेपानी ब्वाइजले अत्तरिया पत्रकार समूहलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए।
यस्तै, विजेता खेलाडीलाई एक कार्यक्रमका बीच आजै पुरस्कार वितरण गरिएको छ। प्रतियोगिताको संयोजक तथा आयोजक खेलकुद पत्रकार मञ्च कैलालीका उपाध्यक्ष गगन अयडीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी मुख्य प्रायोजकसमेत रहेको निसर्ग अस्पतालका अध्यक्ष तीर्थ पन्त रहेका थिए। पन्तसंगै गौरीशंकर डेन्टर क्लिनिक सञ्चालक रतन एसके, डल्लुज फुटसलका सञ्चालक उमेशविक्रम शाह, पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशी, महासंघका पूर्वकेन्द्रीय सदस्य दीलबहादुर छत्याल लगायतले पुरस्कार वितरण गरेका थिए।
प्रतियोगिताको मुख्य प्रायोजक धनगढीको निसर्ग अस्पताल रहेको थियो भने गौरीशंकर डेन्टर क्लिनिक सहप्रायोजक रहेको थियो। प्रतियोगिता आयोजनामा एसपीए कलेज, मायामेटे अस्पताल, संजिवनी अस्पताल, ज्योती आयल स्टोर, रिया स्पोर्टस हाउस, मिश्र जनरल स्टोर, सिंह जनरल स्टोर, नेपाल वेस्टर्न कलेज, रुसलान, डल्लुज फुटसल लगायतले सहयोग गरेका थिए। आयोजक खेलकुद पत्रकार मञ्चका अध्यक्ष प्रदीप पाठकले अर्को वर्ष अझै परस्कृत रुपमा प्रतियोगिता आयोजना गर्ने बताए।