प्रविन बौखाही
हसुलिया । अबिरल बर्षातले कटैनी नदिमा आएको बाढीले कैलारी गाउँपालिकाको दर्जन बढी गाउँ डुबान परेको छ ।
गाउँपालिकाको वडा नम्बर ५ अन्र्तगत मनकापुर, बन्दरगौरी, बैजपुर, सपना शिविरसहित वडा नम्बर ७ को बर्का वसन्ता, छटकपुर बसन्ता, रामपुर, नारायणपुर लगायतका गाउँ डुबानमा परेको गाउँपालिका अध्यक्ष राजसमझ चौधरी जानकारी दिए । कटैनी नदीमा आएको बाढीले डुबान भएको उनले बताए । अध्यक्ष चौधरीले जनप्रतिनिधि, सशस्त्र प्रहरी, स्थानीय लगायत उद्धार गरिरहेको बताए ।
कैलालीको कैलारी गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले आफ्नो जीवनमा हालसम्मकै ठूलो बाढी देखेको बताए । गाउँपालिकास्थित वडा नं. ७ पुरै र वडा नं. ५ का अधिकांश घर डुबानमा परेको बताउँदै उनले उद्धारको कार्य जारी रहेको जनाए ।
यसैबीच कैलालीमा माछा मार्ने क्रममा बगेर एक युवती बेपत्ता भएकी थिइन् । धनगढी उपमहानगरपालिका–१३ भएर बग्ने झलारी नालामा माछा मार्न गएकी स्थानीय १९ वर्षीय नविना चौधरी बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी वेदप्रकाश जोशीले जनाए । चौधरी नालामा बगेको खबर प्राप्त भएपछि खोजीका लागि प्रहरी टोली परिचालन भएपनि अहिलेसम्म उनको अवस्था अज्ञात रहेको जनाइएको छ ।