२० मंसिर २०८१, बिहीबार December 5, 2024

कैलारी गाउँपालिकाद्वारा जग्गा नापजोख प्रक्रियाको शुभारम्भ

२८ भाद्र २०७९, मंगलवार
कैलारी गाउँपालिकाद्वारा जग्गा नापजोख प्रक्रियाको शुभारम्भ

हसुलिया, २८ भदौ । भुमिहिन दलित/सुकुम्बासी तथा अव्यवस्थित बसोवासीको व्यवस्थापन गर्न कैलालीको कैलारी गाउँपालिकाले जग्गा नापजोख प्रक्रियाको शुभारम्भ गरेको छ ।
कैलारी गाउँपालिका र राष्ट्रिय भूमि आयोग बिच भएको सम्झौता अनुसार भुमिहिन दलित/सुकुम्बासी तथा अव्यवस्थित बासोबासीको व्यवस्थापन जग्गाको प्रमाणपत्र दिनको लागि वडा–६ भगतपुरबाट नापजोखको शुभारम्भ भएको हो । गाउँपालिका अध्यक्ष राजसमझ चौधरीका प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उनले रिबन काटेर जग्गा नापजोख प्रक्रियाको शुभारम्भ गरेका थिए ।


कार्यक्रममा सम्बोधन गर्दै उनले नाँपजोख गर्दा विवाद पनि आउन सक्ने भएकोले त्यसमा सहजीकरण गर्न गाउँका भल्मन्साहरुको ठुलो भुमिका रहेको बताए । उनले भने,‘साँध सीमानामा बढी विवाद आउन सक्छ । यहाँका जनप्रतिनिधि, भल्मन्सा, नागरिक समाज, बुद्धिजीवी आफनै कार्यक्रम सम्झेर समस्या समाधान गरी नाँपजोख कार्यक्रमलाई अगाडी बढाउनु पर्छ ।’


गाउँपालिका अध्यक्ष चौधरीले यसैगरी वडा नम्बर ७, ५, ९ गरी सबै वडामा नापजोखको काम अगाडी बढाउदै लालपुर्जा पनि वितरण गर्ने बताए ।
राष्ट्रिय भुमि आयोगका जिल्ला अध्यक्ष यज्ञराज उपाध्याय गाउँपालिका र आयोग बिच भएको सम्झौता अनुसार दोस्रो चरणमा प्रबेश गर्दै आजबाट नाँपजोखको शुभारम्भ गरेको बताए । ‘बर्षौदेखि भुमिको समस्या थियो, आज कार्यको उदघाटन भएको छ, यसले अब समस्याको समाधानतिर जाने मलाई विश्वास रहेको छ’, उनले भने ।


‘व्यक्तिले बर्षौ देखि उपभोग गर्दै आएको र बनाएको घरटहरा व्यक्तिको नाममा थिएन,’ आयोगका अध्यक्ष उपाध्यायले भने, ‘अब सरकारीबाट व्यक्तिगत बनाउने हामी प्रयासमा छौं । गाउँपालिकाको पहलमा नै उक्त कुरा सम्भव भएको हो ।’
कैलालीको १३ पालिका मध्ये पहिलो चरणमा पाँच वटा पालिकासँग सम्झौता भएको र यो कार्य गत वर्षको चैत्रबाट यो पालिकामा प्राविधिक खटाएर काम भइरहेको पनि आयोगका अध्यक्ष उपाध्यक्षले बताए ।


उनले भने, ‘सीमित प्राविधिकका कारण यो पालिकामा काम गर्न सकिएको थिएन । क्रमश पोइन्ट राखेपछि नाँपजोख सुरु भएको हो । सबै जनाले यो आफनो कार्यक्रम सम्झेर सहयोग गर्नुपर्छ ।’
जसको जमिन हो । जसले जोतपोत गरेको हो त्यसैको नाममा राष्ट्रिय भुमि आयोगको नाप्ने कार्यविधि छ । त्यसैलाई सहयोग गर्नुपर्ने उनले बताए । नाँपजोख गर्नेबेला भुमिहिन दलित, सुकुम्बासी लाई पहिलो प्राथमिकता राखेर काम भइरहको र त्यसपछि अव्यवस्थित बसोवासीलाई राखेको उनले बताए ।


भुमिहिन दलित, सुकुम्वासीलाई एकचोटी राज्यले वर्तमान संविधान र त्यसले दिएको भुमि माथिको अधिकार कार्यान्वयन गर्नको लागि राज्यले जग्गा उपलब्ध गराउने भन्ने नीति रहेको आयोगका अध्यक्ष उपाध्यायले बताए ।
कैलारी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष प्रेम बहादुर चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भगवतीकुमारी चौधरी स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रमको संचालन गाउँपालिकाका सामाजिक विकास अधिकृत यगम कलेलले गरेका थिए ।
कार्यक्रममा गाउँपालिकाका वडा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत विरबहादुर ऐर, कार्यपालिका सदस्य, वडा सदस्य, गाउँपालिकाका विभिन्ना शाखाका प्रमुख, आयोगका विज्ञ सदस्य केशवराज जोशी, घनश्याम कुश्मी, पार्वती आग्री, गाउँका भल्मन्सा लगायत गाउँबासीहरुको उपस्थिति थियो ।