२७ आश्विन २०८१, आईतवार October 13, 2024

कैलालीमा डेंगुको महामारी, डेंगुबाट बच्न सरसफाई आवश्यक

२५ भाद्र २०७९, शनिबार
कैलालीमा डेंगुको महामारी, डेंगुबाट बच्न सरसफाई आवश्यक

कैलाली । पछिल्लो समय कैलालीमा डेंगुको प्रकोप देखिएको छ । गत सावन यता कैलालीमा ७१ जनामा डेंगुको संक्रमण देखिएको छ । जसमध्ये सबभन्दा बढी लम्कीचुहा नगरपालिकामा ६६ जना डेंगुको संक्रमण देखिएको छ, भने घोडाघोडी नगरपालिमा २ र बर्दगोरिया गाउँपालिकामा ३ जनामा संक्रमण देखिएको हो ।
केही दिन अघि उपचारका क्रममा धनगढी उमहानगरपालिका उपमहानगरपालिका वडा नम्बर १२ की ३५ वर्षीया गीता शाहीको डेंगुका कारण मृत्यु भएको थियो ।
शनिबार धनगढीमा डेंगु रोग नियन्त्रण तथा रोकथाम बारे पत्रकार बिच अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
अन्तरक्रिया कार्यक्रममा स्वास्थय कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले डेंगुलाई समयमै नियन्त्रण गर्न आवश्यक रहेको बताए । समयमै नियन्त्रण गर्न नसके डेंगु महामारीको रुप लिन सक्ने उनले बताए । उनले डेंगु नियन्त्रण गर्न सबैले आआफ्नो ठाउँबाट सहयोग गर्न अनुरोध गरे ।


‘डेंगुको एउटा केस देखिए महामारीको रुपमा लिइन्छ’, कार्यालय प्रमुख धामीले भने–‘सावन यता कैलालीमा धेरै केसहरु देखिएको छ, यसलाई महामारीको रुपमा नै लिन सकिन्छ ।’
डेंगु बाट बच्न उनले आफ्नो घर आँगन वरिपरि तथा पानी जन्मे ठाउँ सरसफाई गर्न सुझाए । डेंगुको आर्थिक रुपमा उपचार पद्धति खर्चिलो भएकोले डेंगु रोगबाट उनले डेंगु नियन्त्रण नै आवश्यक रहेको औंल्याए ।
‘डेंगु संक्रमण भएका विरामीको उपचार पद्धति नै धेरै खर्चिलो हुन्छ’, उनले भने–‘त्यो भन्दा पहिले हामीले डेंगु नियन्त्रण गर्न हामीले आफ्नो घर आँगन वरिपरि तथा पानी जन्मे ठाउँ सरसफाई आवश्यक हुन्छ ।’

गत आव २०७८/०७९ को सावन मसान्त सम्म कैलालीमा १५६ जनामा डेंगु संक्रमण देखिएको थियो । जसमध्ये लक्मी चुहा नगरपालिकामा मात्रै १३३ जनामा डेंगु संक्रमण देखिएको थियो भने धनगढी उपमहानगरपालिकामा ७, गोदावरीमा ६, घोडाघोडी र भजनीमा ३/३, गौरीगंगा नगरपालिका र बर्दगोरिया गाउँपालिकामा १/१ जनामा संक्रमण देखिएको थियो ।
यसैगरि आर्थिक वर्ष २०७७/०७८ मा ९५ जनामा संक्रमण भएको थियो । जसमध्ये सबैभन्दा बढी लम्की चुहानगरपालिकामा ५९, टीकापुर नगरपालिकामा २८, धनगढी उपमहानगरपालिकामा ४, बर्दगोरिया गाउँपालिकामा ३, र घोडाघोडी नगरपालिकामा १ जनामा डेंगु संक्रमण देखिएको थियो ।


डेंगुको संक्रमण बढ्दै गएपछि कैलालीका १३ वटै स्थानीय तहलाई सचेत रहन भनिएको छ । संक्रमण रोक्न अभियान सञ्चालनका लागि पत्राचार गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । डेंगुका बिरामी असारदेखि असोजसम्म फेला पर्ने चिकित्सकहरुले जनाएका छन् ।
डेंगु कैलालीसँगै कञ्चनपुर र पहाडी जिल्लामा पनि यसका संक्रमित फेला पर्न थालेका छन् । डेंगुरोग एडीस एजिप्टी र एडीस एल्बोपिक्टस् प्रजातिका लामखुट्टेहरुको टोकाईबाट सर्छ । यसबाट बच्न लामखुट्टेहरुको टोकाइबाट बच्नु पर्ने हुन्छ ।
डेंगु रोग लागेमा एक्कासि ज्वरो आउने, टाउको, मासपेशी तथा जोर्नी दुख्ने, थकान महसुस हुने, वाकवाकी लाग्ने वा बान्ता हुने, आफ्नो दैनिकी, खानपान वा अन्य कामकुरामा रुची नलाग्ने लगायतका लक्षण देखिन सक्छ ।
यस्ता लक्षण देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न स्वाथ्यकर्मीहरुले सुझाएका छन् । साथै डेंगुको टोकाइबाट बच्न पुरा बहुला भएका लुगा लगाउन, झुल भित्र मात्र सुत्ने घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्न, घर कार्यालय विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने, खाल्डाखुल्डी पुर्ने र खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, गमलाको प्लेट, फूलदानी कुलर आदिको पानी कम्तिमा हप्ताको एक पटक फेर्ने, पानी जम्मा गर्ने भाडाडलाई लामखुट्टे छिर्न नसक्ने गरि छोप्ने, साँझा र विहान करेसाबारीमा जाँदा, घर बाहिर टहलिदा वा पार्कमा जाँदा बालबालिकालाई लैजाँदा लामखुट्टे नटोकोस भनेर विशेष सावधानी अपनाउन सुझाएका छन् ।