२० मंसिर २०८१, बिहीबार December 5, 2024

सत्यनारायण श्रेष्ठलाई संस्थापक अध्यक्ष घोषणा गर्न माग सहित ज्ञापनपत्र

१७ भाद्र २०७९, शुक्रबार
सत्यनारायण श्रेष्ठलाई संस्थापक अध्यक्ष घोषणा गर्न माग सहित ज्ञापनपत्र

कैलाली । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) कैलाली शाखाले नेपाल पत्रकार महासंघ कैलाली शाखालाई ज्ञापनपत्र बुझाएको छ ।
शुक्रबार फोनिज कैलालीका अध्यक्ष राम दहितको नेतृत्वमा फोनिज कार्या समितिको पदाधिकारी र सदस्यहरुले पत्रकार महासंघको अध्यक्ष हिमाल जोशी र सचिव प्रेम चौधरीलाई ज्ञापनपत्र बुझाएको हो ।
पत्रकार महासंघका संस्थापक अध्यक्ष स्व सत्यनाराण बहादुर श्रेष्ठ हुन् र श्रेष्ठलाई संस्थापक अध्यक्ष घोषणा गर्न माग गर्दै पत्रकार महासंघ र सरकारलाई दवाव दिन फोनिज संघीय समितिको निर्णय अनुसार फोनिज जिल्ला शाखा कैलालीले पत्रकार महासंघ जिल्ला शाखा मार्फत् केन्द्रलाई ज्ञापनपत्र बुझाएको हो ।
सरकार र पत्रकार महासंघले स्व.कृष्ण प्रसाद भट्टराईलाई संथापक अध्यक्ष मान्दै आइरहेको छ । तर तथ्य र प्रमाणले नेपाल पत्रकार संघ गठन गरेर पत्रकारलाई पहिलो पटक संगठित गर्ने व्यक्ति सत्यनारायण बहादुर श्रेष्ठ भएकाले फोनिजले पत्रकार महासंघको अध्यक्ष श्रेष्ठलाई घोषणा गर्न माग गर्दै आएको छ ।
विस २००८ बैशाख ९ मा श्रेष्ठको नेतृत्वमा नेपाल पत्रकार संघ गठन भएको प्रमाणहरु रहेका छन् । वि.स २००९ बैशाख २८ गते श्रेष्ठको सभापतित्वमा नेपाल पत्रकार संघ पुर्नगठन भएको थियो । वि.स २०१२ चैत्र २६ गते श्रेष्ठ अध्यक्ष र भट्टाइ उपाध्यय भट्टराई सभापति भएका थिए । फोनिजले बुझाएको ज्ञापन–पत्रमा भनिएको छ, ‘वि.सं २०१२ चैत १६ गते नेपाल पत्रकार संघ पुनर्गठित हुँदा कृष्णप्रसाद उपाध्याय भट्टराई सभापति बन्नुभएको तथ्य साँचो हो । उहाँको योगदानको हामी सबैले उच्च कदर गर्नुपर्छ, आदरभाव प्रकट गर्नु पर्दछ ।’
ज्ञापन–पत्र बुझाउने कार्यक्रममा नेपाल पत्रकार महासंघ कैलाली सचिव प्रेम चौधरी, सदस्य कैलाश जोशी, फोनिज कैलाली शाखा सचिव सागर कुश्मी, सहसचिव अनिता चौधरी र कोषाध्यक्ष प्रेमलाल चौधरीको पनि उपस्थित रहेको थियो ।

ज्ञापन–पत्र पूर्णपाठ

श्री अध्यक्षज्यू
नेपाल पत्रकार महासंघ
केन्द्रीय कार्य समिति, काठमाडौँ ।

मार्फत,
नेपाल पत्रकार महासंघ
कैलाली, शाखा

विषय : ज्ञापन–पत्र
नेपालका श्रमजीवी पत्रकारको नेतृत्व संस्थाका रूपमा ‘नेपाल पत्रकार महासंघ’ स्थापित छ । तत्कालीन ‘नेपाल पत्रकार संघ’ हुँदै महासंघका रूपमा विशाल आकार प्रदान गर्न धेरै अग्रज नेतृत्वले अतुलनीय योगदान गर्नुभएको छ ।
अधिकारका लागि कलम चलाउनसमेत नसकिने कहालीलाग्दो तत्कालीन परिस्थितिमा पत्रकारलाई संगठित गर्नु सामान्य काम थिएन । त्यो हिम्मत र साहस गर्नुहुने सत्यनारायणबहादुर श्रेष्ठसहित सम्पूर्ण अग्रज नेतृत्वप्रति नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सम्मान व्यक्त गर्दछ ।
वर्तमान महासंघको जग इतिहासबाट बनेको हो । अर्थात्, वर्तमान नेपाल पत्रकार महासंघको जग तत्कालीन ‘नेपाल पत्रकार संघ’ नै हो । नेपाल पत्रकार संघ गठन गरेर नेपाली पत्रकारलाई पहिलो पटक संगठित गर्ने व्यक्ति सत्यनारायणबहादुर श्रेष्ठ हुनुहुन्थ्यो ।

विसं २००८ वैशाख ९ गतेको पत्रकार भेलाले सत्यनारायणबहादुर श्रेष्ठको नेतृत्वमा ‘नेपाल पत्रकार संघ’ गठन गरेको थियो । २००९ वैशाख २८ गते श्रेष्ठकै सभापतित्वमा तत्कालीन नेपाल पत्रकार संघ पुनर्गठन भयो । थप पत्रकारलाई संघमा संगठित गर्ने उद्देश्यसाथ संघको पुनर्गठन गरिएको थियो ।
अकाट्य तथ्यहरूका आधारमा हाल नेपाल पत्रकार महासंघ (तत्कालीन नेपाल पत्रकार संघ) को संस्थापक सभापति (हाल अध्यक्ष) सत्यनारायणबहादुर श्रेष्ठ हुनुहुन्थ्यो भन्ने कुराको प्रमाणका रुपमा दस्तावेजहरूले पुष्टि गरिसकेको छ । तर, नेपाल पत्रकार महासंघले अकाट्य तथ्यहरूलाई नजरअन्दाज गर्दै सन्त नेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई संस्थापक अध्यक्ष मान्दै आएको छ । महासंघको यो कदमप्रति नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले गम्भीर विमति राख्दै आएको छ ।

वि.सं २०१२ चैत १६ गते नेपाल पत्रकार संघ पुनर्गठित हुँदा कृष्णप्रसाद उपाध्याय भट्टराई सभापति बन्नुभएको तथ्य साँचो हो । उहाँको योगदानको हामी सबैले उच्च कदर गर्नुपर्छ, आदरभाव प्रकट गर्नु पर्दछ ।
फोनिज समन्यायिक समाज निर्माणको मान्यताबाट अग्रसर छ । यसर्थ, सन्त नेता भट्टराईको सामाजिक, राजनीतिक योगदानको यथोचित सम्मान र कदर होस् भन्ने कुरामा हाम्रो बिमति छैन । तर, तथ्यहरूले ‘नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ हुनुहुन्छ’ भन्ने पुष्टि भइसकेको अवस्थामा ‘कृष्णप्रसाद भट्टराई नै संस्थापक अध्यक्ष हुनुहुन्छ’ भन्नु स्वयम् भट्टराईको निस्वार्थ योगदानको अपमान मात्र होइन, नेपाल पत्रकार संघ गठन गरेर पहिलो पटक नेपालका पत्रकारलाई संगठित गर्ने सत्यनारायणबहादुर श्रेष्ठको योगदानको अवमूल्यन गर्ने, अपमान गर्ने र इतिहास नामेट पार्न खोज्नु निसन्देह गलत काम हो ।

देशको प्रधानमन्त्री बनिसक्नु भएका भट्टराईलाई गलत तथ्यका आधारमा पत्रकार महासंघको संस्थापक मान्नु उहाँको योगदानलाई विवादित पार्नु र मानमर्दन गर्नु पनि हो । यस्तो कार्य कतै र कसैबाट पनि नहोस् भन्ने विषयमा फोनिज सचेत छ ।
प्राप्त तथ्य र प्रमाणहरूका आधारमा नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ नै हुनुहुन्छ । यो तथ्य सर्वस्वीकार्य बनिसकेको छ । यसर्थ, नेपाल पत्रकार महासंघले आफ्ना दस्तावेजहरूमा महासंघको संस्थापक अध्यक्ष कृष्णप्रसाद भट्टराई हुनुहुन्छ भनी उल्लेख गरेका गलत विवरण सच्याएर ‘नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ हुनुहुन्छ’ भन्ने सही तथ्यलाई स्थापित गराउन यसै ज्ञापनपत्र मार्फत नेपाल पत्रकार महासंघसँग जोड्दार माग गर्दछौँ ।

‘‘‘
राम दहित
अध्यक्ष
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)
जिल्ला समिति, कैलाली