धनगढी, २० श्रावण । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले दाबी पेश गरेका छन् ।
उनले कांग्रेस र नेकपा (एमाले) का प्रदेशसभा सदस्यको समर्थनमा प्रदेश प्रमुख नजिर मियाँसमक्ष दाबी पेश गरेका हुन् । शाहको पक्षमा कांग्रेसको १८ र एमालेको ११ जना प्रदेश सभा सदस्य छन् । मुख्यमन्त्री दावी गर्न २७ जनाको समर्थन आवश्यक पर्नेमा उनलाई २९ जनाको समर्थन रहेको छ ।
आज साँझ ५ बजेपछि उहाँलाई मुख्यमन्त्रीमा नियुक्त गरिने छ । शाह प्रदेश सभाको यही कार्यकालमा दुई पटक मुख्यमन्त्री बन्न लागेका हुन् । यसअघि उहाँले १४ महिना सरकार चलाएका थिए ।
नेकपा (एकीकृत समाजवादी) का दीर्घबहादुर सोडारीले शुक्रबार राजीनामा दिएपछि उनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री हुने भएका हुने । प्रदेश प्रमुख मियाँले आज आइतबार साँझ ५ बजेसम्मको समयसम्म मुख्यमन्त्रीमा दावेदारी गर्न समयसीमा दिएका थिए ।