विकास रत्गैंया । लामो समयसम्म काम हुन नसकेको कैलालीको बसन्ता कोरीडोर क्षेत्रमा हुलाकी राजमार्ग निर्माण कार्य पूरा भएको छ । वनको अवरोधका कारण धेरै समयसम्म काम रोकिएको थियो ।
वन क्षेत्रमा बाँकी रहेको दुई किलोमिटरमा यसैवर्षबाट काम सुरु भएपछि निर्माण कार्य पूरा भएको हो । बसन्ता कोरीडोर क्षेत्रमा हुलाकी राजमार्ग विस्तारका लागि २०७३ मा तुण्डी, प्रेरा, चन्द्रा एण्ड बसन्ता जेभीसंग ठेक्का सम्झौता भएको थियो । पाँच वर्ष समयावधि रहेको सो खण्डमा राजमार्ग निर्माण कार्य पूरा गर्न भने छ वर्ष लागेको छ । वन क्षेत्रमा पर्ने १८ किलोमिटरमध्ये १६ किलोमिटर सडक खण्डमा बेलैमा राजमार्ग निर्माणको कार्य पूरा भए पनि दुई किलोमिटरमा भने वनले रोकेको थियो ।
लामो समयसम्म रुख कटानको आदेश प्राप्त नभएपछि सो ठाउँमा काम अगाडि बढ्न सकेको थिएन । पटक–पटक म्याद थप हुँदै आएकोमा गतवर्षमात्रै मन्त्रिपरिषद्ले रुख कटानको आदेश दिएको थियो ।
कैलारी गाउँपालिका–५ को कटैनी पुलदेखि वडा नम्बर ७ छटकपुर बसन्तासम्म दुई किलोमिटरमा कालोपत्रेको काम सम्पन्न भएपछि स्थानीयलाई आवतजावत गर्न एकदमै सहज भएको छ । बसन्ता कोरीडोर क्षेत्रमा सडक निर्माणका लागि निर्माण कम्पनीले करिब ३३ करोड रुपैयाँमा ठेक्का पाएको थियो ।
धनगढी–भजनी–सत्तीसम्म ६२ किलोमिटर दूरी रहेको हुलाकी राजमार्ग सन २०१० बाट कैलालीमा हुलाकी राजमार्ग निर्माणको कार्य सुरु भएको थियो ।
हुलाकी राजमार्ग निर्माणका लागि चालू आर्थिक वर्षको हालसम्म ३७ करोड रुपैयाँ खर्च भएको जनाइएको छ ।
हुलाकी राजमार्ग निर्माण भएपछि कैलालीको दक्षिणी क्षेत्रहुँदै आउजाउ गर्न सहज भएको छ । हुलाकी राजमार्ग भएर धनगढीदेखि सत्ती, सत्तीदेखि राजापुर–गुलरिया हुँदै नेपालगञ्जसम्म आउजाउ गर्न सहज भएको छ । साथै, दूरी पनि छोट्टिएको छ ।
फोटो : विकास रत्गैंया