कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले अँट्वारी पर्वको अवसरमा यहि भदौ १२ गते सार्वजनिक विदा दिने भएको निर्णय गरेको छ । विहीबार आन्तरिक मामिला तथा कानून मन्त्रालयले विदा सम्बन्धी सूचना जारी गरेको छ ।
यस अघि प्रदेश सरकारले भदौ १९ गते विदा दिने निर्णय गरेको थियो । उक्त मिति संसोधन गरि प्रदेश सरकारले भदौ १२ गते विदा दिने निर्णय गरेको हो ।
अँट्वारी पर्वमा सार्वजनिक विदाका लागि थारु कल्याणकारिणी सभा कैलालीले बुधबार मात्रै सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री डा. रणबहादुर रावललाई ज्ञापनपत्र बुझाइएको थियो । प्रदेश सरकारले अँट्वारी पर्वमा प्रत्येक वर्ष सार्वजनिक विदा दिँदै आएको छ ।
हरेक वर्ष कृष्ण जन्माष्टमीपछिको दोस्रो साताको आइतबार तथा कुशेऔंसी पछिको पहिलो आइतबारका दिन अँट्वारी पर्व मनाइन्छ । अँट्वारी मुलतः थारु समुदायका पुरुषले मनाउने पर्व हो । तर, थारु समुदायका महिला पनि अँट्वारी व्रत बस्ने गर्दछन् ।
पश्चिम नेपालको कैलाली, कञ्चनपुर, बर्दिया र दाङ जिल्लाका थारु समुदायले अँट्वारी पर्व मनाउने गरेका छन् । थारु समुदायको यो माघीपछिको दोस्रो प्रमुख सांस्कृतिक, सामाजिक पर्व हो । अटवारीको अघिल्लो दिन अर्थात् शनिबार मध्य रातीमा दर खाएर यो पर्व सुरु हुन्छ । आइतबार ब्रत बस्ने गरिन्छ ।
साँझ प्रत्येकले आफ्नो घरको छुट्टै कोठा लिपपोत गरेर चोखो रूपमा रोटी, पूरी पकाएर अँट्वारी पुजा गर्ने गर्दछन् । अँट्वारी पुजामा अण्डीक रोटी, काँक्रो, दही, केरा, बेलौटीलगायतका अग्रासन झिकेर पूजा गरिन्छ । त्यसको भोलिपल्ट बिहान पाँच अथवा सात प्रकारका गेडागुडीयुक्त तरकारी र भातको फरहार गरिन्छ ।
फरहारपछि आफ्ना विवाहित चेलीबेटीलाई अग्रासन दिन जाने चलन रहेको छ। अँट्वारी माइतीले आफ्ना चेलीबेटीलाई सम्मान दिने तथा दाजुभाई र दिदीबहिनीबीच मायाप्रेम साट्ने पर्वका रूपमा स्थापित छ । त्यस्तै, अँट्वारीलाई एकता, विजय तथा भातृत्व प्रेमको प्रतीकका साथै बल र सुरक्षाको प्रतीकका रुपमा मनाइने गरेको छ ।