धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका–३ को बादी बस्तीमा १३० भूमिहीन दलित परिवारलाई लालपूर्जा वितरण गरिएको छ ।
जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भूमिको समुचित प्रयोग गरेर कृषि उत्पादन र उत्पादकत्व बढाएर आत्मनिर्भर अर्थतन्त्र विकास गर्न सरकारले योजना बनाएर काम सुरु गरिसकेको बताएकी छन् ।
उनले नदी उकासदेखि बाझो जमिनको समुचित प्रयोग गर्ने र कृषिमा उत्पादन र उत्पादकत्व बढाएर देशभित्र नै रोजगारी सिर्जना गर्दै आत्मनिर्भर अर्थतन्त्र विकास गर्न सरकारले योजना बनाएर काम सुरु गरेको बताइन् ।
मन्त्री श्रेष्ठले संविधानमा लिपिबद्ध नागरिकका सम्पूर्ण अधिकार कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको र भूमिहीन दलित, भूमिहीन सुकुम्बासीको हक अधिकार स्थापित गर्नु भूमिहीनलाई भूमि वितरणको काम गरिरहेको बताइन् ।
मन्त्री श्रेष्ठले मुक्त हलिया, कमैया, कमलरी र हरवाचरवाको समस्या समाधान गर्न कार्यदलले दिएको प्रतिवेदनअनुसार पहिचान, प्रमाणीकरण गर्ने, कार्यविधि तयार गर्ने र पुनर्स्थापनाको कामका लागि कार्ययोजना बनाएर अगाडि बढिसकेको पनि बताइन् ।
उनले भूमिहीनलाई लालपुर्जा वितरणको काम अभियानको रुपमा अगाडि बढाइएको र हालसम्म गाउँब्लकमा ५० हजार भन्दाबढी भूमिहीनलाई लालपुर्जा वितरण गरेर कानुनी रुपमा जग्गाको मालिक बनाइएको बताइन् ।
मन्त्री श्रेष्ठले यहि वर्षभित्र ३०० पालिकाका पाँच लाख भूमिहीनलाई लालपूर्जा वितरण गरिसक्ने र दुई वर्षभित्र भूमिसम्बन्धी सम्पूर्ण समस्या समाधान गर्न मन्त्रालय सबै खालका प्राविधिक समस्या, कानुनी र कार्यविधिगत जटिलता हटाउँदै नतिजा दिनेगरी काम गरिरहेको पनि बताए ।