२१ मंसिर २०७९, बुधबार December 7, 2022

टीकापुर विद्रोह दिवस मनाउँदै

७ भाद्र २०७९, मंगलवार
टीकापुर विद्रोह दिवस मनाउँदै

कैलाली । कैलालीको टीकापुरमा आज मंगलबार भदौ ७ गतेका दिन टीकापुर विद्रोह दिवस मनाउने भएको छ ।
टीकापुर घटनालाई लिएर थारु अधिकारवादी संघ संस्थाले भदौ ७ गतेका दिन टीकापुर विद्रोह तथा ८ गते कालो दिनको रुपमा मनाउँदै आएका छन् ।
यस वर्ष थरुहट थारुवान राष्ट्रिय मोर्चा, थारु कल्याणकारिणी सभा, थारु विद्यार्थी समाज कैलालीको संयुक्त आयोजनामा ‘समानता, न्याय, अधिकार, सद्भावका लागि एवं दासता विरुद्ध’ नारा सहित विद्रोह दिवस मनाउने भएको छ ।
कार्यक्रम मूल आयोजक समितिका संयोजक माधव चौधरीले कार्यक्रम टीकापुरको कान्छी बजार स्थित खुल्ला मञ्चमा आयोजना हुने बताए ।
यता टीकापुर विद्रोहबाटै जन्मिएको तथा जनमतबाट आएको नागरिक उन्मुक्ति पार्टीको आयोजना पनि टीकापुर विद्रोह दिवस मनाउने भएको छ ।
संविधान लेखनको क्रममा २०७२ भदौ ७ गते टीकापुरमा थरुहट आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडप भएर ८ प्रहरीसहित १ नाबालकको ज्यान गएको थियो ।
घटना भएको दोस्रो दिन विहान कफ्र्यु जारी भएको समयमा ८० बढी थारु समुदायको घर, पसल, एफएम लगायतमा आगजनी भएको थियो । उक्त घटनाको मुद्दामा सांसद रेशम चौधरी सहित नेता कार्यकर्ता जेल सजाय भोग्दै आएका छन् ।