धनगढी । हुलाकी राजमार्गको थेकीपुरमा ११ वर्षअघि पुल निर्माण थालिए पनि अझै पूरा हुन सकेको छैन । भजनी नगरपालिका–३ को थेकीपुरमा २०६८ सालमा पुल निर्माण सुरु भएको थियो । पुल निर्माण गर्ने कम्पनीका ठेकेदार भागेपछि पुल निर्माण अलपत्र परेको हो ।
समयमा पुल निर्माण नहुँदा सबैभन्दा बढी मार भजनी नगरपालिकाका वडाहरु ५, ७ र ९ मा बसोबास गर्ने स्थानीय र विद्यार्थीहरुलाई समस्या हुने गरेको छ । ती वडामा बसोबास गर्नेहरुको ज्याला मजदुरीदेखि औषधिमुलो र शैक्षिक गन्तब्य हो भजनी बजार । जहाँ आउनजान डुंगाको प्रयोग अनिवार्य छ ।
डुंगाबाट ओहोरदोहर गर्दा कतिबेला के हुने हो भन्ने चिन्ताले सधै पिरोल्ने गरेको भजनी नगरपालिका ७ का सुन्दर चौधरीले बताए । उनी दैनिक मजदुरी गर्न हरेक दिन खोला डुंगाबाट तर्न बाध्य छन् ।
‘पुल यो वर्ष निर्माण सम्पन्न हुने कुरा सुनेको थिए, तर पुल अलपत्र छाडी ठेकेदार नै भागेको कुरा सुन्नमा आएको छ ।’ उनले प्रतिप्रश्न गरे– ‘हाम्रो पुल तरेर वारीपारी गर्ने सपना कहिले पूरा होला, के साच्चै हाम्रो देशमा समयमा काम नगर्ने ठेकेदारलाई कारवाही गर्ने कुनै निकाय छ र ?’
पानी परिरहेको बेलामा डुंगा समेत नचल्ने हुँदा खोला किनारमा बसेर घर र्फकनुको विकल्प नरहेको सुनाए ।
यता समयमै पुल निर्माण तथा हुलाकी राजमार्ग अन्तर्गत भजनी नयाँ सहर विकास कार्यक्रम अन्तर्गत चक्रपथ रिङ्ग रोड योजना लगायतका माग सहित भजनी नगरपालिकाका मेयर केवल चौधरीको टोलीले केही दिन अघि मात्रै शहरी विकास मन्त्री मेटमणि चौधरीलाई ज्ञापन पत्र बुझाएको थियो । ज्ञापनपत्र बुझाउने वित्तिकै ठेकदारले फोन मार्फत अगामी पुस माघ मसान्तभित्रै पुल निर्माण कार्य सम्पन्न गर्ने प्रतिवद्धता जनाएको मेयर चौधरीले बताए ।
चार करोड ४३ लाख रुपियाँमा साल्पारशेर्पा–लामा–बिरुवाले संयुक्त रूपमा सो पुल निर्माणको ठेक्का पाएको थियो । ३० महिना समयावधि रहेको सो पुलको म्याद पटक–पटक थप गर्दा पनि नबनाएपछि हुलाकी राजमार्ग आयोजनाले ठेकेदारसँग ठेक्का तोड्ने तयारी थालेको छ । हुलाकी राजमार्ग आयोजनाका इन्जिनियर पदम मडैका अनुसार अब पुरानो ठेक्का तोडेर नयाँ ठेक्का गरी पुलको बाँकी काम सम्पन्न गरिनेछ ।
दशक लामो समय भइसक्दा पनि पुल निर्माण कार्य पूरा नभएपछि स्थानीयसहित जनप्रतिनिधिमा पनि नैराश्यता छाएको छ । कान्द्रा नदीमा पुल नहुँदा स्थानीयले धेरै दुःख पाएको भजनी नगरपालिका–३ का अध्यक्ष विक्रम चौधरीले बताए ।
२०६८ जेठमा ठेक्का भएको पुलको पहिलो निर्माण अवधि ३० महिना रहेको थियो । तर, डिजाइन परिवर्तन गर्नु पर्ने कारणले साढे चार वर्षसम्म काम भएन । २०७२ पुसमा डिजाइन परिवर्तन भएपछि काम सुरु गरिएको थियो । साढे दुई वर्षको पहिलो म्याद २०७५ असारमा सकिएको थियो । चौथो पटक थप भएको म्याद चैत मसान्तमा सकिएको छ ।
फाइल फोटो