धनगढी । सेती प्रादेशिक अस्पताललाई दुई सय शय्यामा स्तरोन्नति गर्ने निर्णय भएको छ। आज बसेको सुदूरपश्चिम प्रदेशको मन्त्रीपरिषदको बैठकले प्रादेशिक अस्पताललाई दुई सय शय्यामा स्तरोन्नति गर्ने निर्णय गरेको हो ।
सेती अस्पताल नेपाल सरकारबाट ५० र आन्तरिक स्रोतबाट ७५ गरी १२५ शय्यामा सञ्चालन भइरहेको थियो । २ सय शय्यासम्म स्तरोन्नति गर्ने अधिकार प्रदेश सरकारसंग छ। मन्त्री बोहराका स्वकीय सचिव टेकराज पाण्डेयका अनुसार ३ सय शय्यामा स्तरोन्नतिका लागि संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई लेखी पठाउने पनि निर्णय भएको छ।
यता सामाजिक विकास राज्यमन्त्री टेक बहादुर रैकाले ऐतिहासिक निर्णय भएको बताएका छन् ।
‘प्रादेशिक अस्पतालमा बिरामीको चाप बढ्दै गएपछि सामाजिक विकास मन्त्रालयमा हामी आईसकेपछि स्तरोन्नतिको प्रक्रिया अगाडि बढाएका हो, यो ऐतिहासिक निणैय हो’ राज्यमन्त्री रैकाले भने । ‘सेती प्रादेशिक अस्पताललाई ३९ बर्षपछि स्तरोन्नति गरिएको हो ।’