२६ कार्तिक २०८१, सोमबार November 11, 2024

थारु लेखक संघले साहित्यिक आन्दोलन गर्ने

२३ श्रावण २०७९, सोमबार
थारु लेखक संघले साहित्यिक आन्दोलन गर्ने


कैलाली । थारु लेखक संघ कैलालीले साहित्यिक आन्दोलन गर्ने भएको छ ।
शनिबार संघको धनगढी उपमहानगरपालिका–१४, सी गाउँ फुलवारीमा भएको बैठकले ‘बरल टीकापुर’ नामक साहित्यिक आन्दोलन गर्ने निर्णय गरेको छ । संघले यहि सावन २५ गते देखि भाद्र १० गतेसम्म ‘बरल टीकापुर’ नामक १५ दिने साहित्यिक आन्दोलन गर्ने सचिव अनिल कुमार कुश्मीले जानकारी दिए ।
साहित्यिक आन्दोलनका लागि संघले टीकापुर घटनासँग सम्बन्धित प्रगतिवादी क्रान्तिकारी लेख रचना उपलब्ध गराउन पनि अनुरोध गरेको छ ।


केही दिन अघि थरुहट थारुवान राष्ट्रिय मोर्चाले पनि टीकापुर विद्रोह दिवस मनाउने उद्घोष गरिसकेको छ । मोर्चाले भदौ ७ गते टीकापुर विद्रोह दिवस र संविधान जारी भएको दिन असोज ३ गते कालो दिन मनाउने भएको छ ।
टीकापुर घटनालाई लिएर मोर्चा लगायत कलाकार तथा साहित्यकारहरुले आआफ्नो क्षेत्रबाट प्रत्येक वर्ष विद्रोह दिवस मनाउँदै आएका छन् । संविधान लेखनको क्रममा २०७२ भदौ ७ गते टीकापुरमा थरुहट आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडप भएर ८ प्रहरीसहित १ नाबालकको ज्यान गएको थियो ।
घटना भएको दोस्रो दिन विहान कफ्र्यु जारी भएको समयमा ८० बढी थारु समुदायको घर, पसल, एफएम लगायतमा आगजनी भएको थियो । उक्त घटनाको मुद्दामा सांसद रेशम चौधरी सहित नेता कार्यकर्ता जेल सजाय भोग्दै आएका छन् ।