कैलाली । कैलालीमा बस्तीनजिक आएको गोहीको उद्धार गरिएको छ । कैलालीको घोडाघोडी नगरपालिका–५, सितलपुरबाट एक वयस्क गोहीको उद्धार गरिएको सव डिभिजन वन कार्यालय सुखडका प्रमुख विश्वराज पण्डितले बताए । सितलपुर खानेपानी उपभोक्ता समितिको कार्यालय परिसरमा फेला परेको करिब साढे चार फिट लामो गोहीको वनका कर्मचारीहरूले उद्धार गरेको सव डिभिजन वन कार्यालय सुखड प्रमुख पण्डितले बताए ।
२० किलो तौल रहेको मगर गोहीको उद्धार गरेर घोडाघोडी ताल क्षेत्रमा छोडेको हो । स्थानीयले समयमै वन कर्मचारीलाई खबर गरेपछि कुनै क्षति हुन नपाएको बताइएको छ । बर्खा याममा विशेष गरी मगर गोही, सर्प र अजिङ्गरहरू मानिसको बसोबास भएको क्षेत्रमा आउने गरेका छन् ।
एक हप्ता अगाडी मात्रै चिसापानी बजारबाट अजिङ्गर उद्धार गरेको हो । वन्यजन्तु उद्धार सम्बन्धी तालिम, उपकरण तथा दक्ष जनशक्ति नहुँदा उद्धारमा समस्या हुने गरेको कर्मचारीहरु बताउँछन् । बर्खा याममा जंगली जनावर विशेष सतकर्ता अपनाउन आग्रह गरिएको छ ।