७ फाल्गुन २०८१, बुधबार February 19, 2025

बर्दिया–२ बाट रेशम चौधरीले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने

९ श्रावण २०७९, सोमबार
बर्दिया–२ बाट रेशम चौधरीले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने

धनगढी । नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले आसन्न प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीबाट रेशम चौधरी पनि उम्मेदवार बन्ने बताएकी छन् । रेशम चौधरीले बर्दिया–२ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने चाहना राखेको अध्यक्ष श्रेष्ठले बताइन् ।

हाल जेलमा रहेका चौधरीले कानुन व्यवसायीसँग यसबारे छलफल गरेको र उम्मेदवार बन्न कानुनी अड्चन नरहेको भन्ने निष्कर्ष निकालिएको उनको भनाइ छ । रेशम उम्मेदवार बन्न लागेपछि नागरिक उन्मुक्ति पार्टीले उक्त क्षेत्रमा आक्रमक ढंगले पार्टीको संगठन विस्तारको काम पनि गरिरहेको छ ।

अध्यक्ष श्रेष्ठका अनुसार उनकै विशेष उपस्थितिमा सोमबार बर्दिया–२ को मधुवन नगरपालिकामा एक घर, एक कार्यकर्ता पार्टी प्रवेश अभियान चलाइँदै छ । २०७४ सालको निर्वाचनमा रेशम निर्वाचित भएको कैलाली–१ मा भने अध्यक्ष श्रेष्ठ उम्मेदवार हुने भएकी छन् । अघिल्लो निर्वाचनमा आफ्नो पति निर्वाचित भएको क्षेत्रमा अहिले आफूले उम्मेदवारी दिने तयारी गरिरहेको श्रेष्ठको भनाइ छ ।