कैलाली । बाढीले भत्काएको कटैनीको काठे पुल निर्माणमा ढिलाई भएको छ । कैलारी गाउँपालिका–७, रामपुरस्थित कटैनी नदिको काठे पुल बाढीले भत्काएको महिनौं भइसक्दा पनि पुल निर्माणमा ढिलाई भएर सञ्चालनमा आउन सकेको छैन ।
बाढीले महत्वपूर्ण कृषि सडकको काठे पुल भत्काएपछि स्थानीयवासीलाई ओहोरदोहोर गर्न निकै समस्या भएको छ । पुल बाढीले भत्काएर बगाएपछि भुईयाँफाँटा, रामपुर, तिघरी गाउँका किसान जोखिम मोलेर ओहोरदोहोर गर्न बाध्य भएका छन् ।
गत असार ९ गते आएको बाढीले सो पुल भत्काएको हो । खेतीपातीको चटारो चलेको बेला पुल बगेपछि स्थानीयलाई ओहोरदोहोर गर्न समस्या भएको छ ।
बाढीले काठे पुल भत्काएपछि जोखिम मोलेर खेतमा जान बाध्य भएको रामपुर गाउँका स्थानीय तथा गाउँका भलमन्सा रामलाल चौधरीले बताए । उनका अनुसार ओहोरदोहोरका लागि रामपुर, भुईयाँफाँटा, तिघरीका स्थानीयले मिलेर बनाएको काठे पुल भत्केपछि यी तीन गाउँवासीलाई सबैभन्दा बढी समस्या झेल्नु परिरहेको छ ।
पुल भत्केपछि स्थानीयले ट्रयाक्टर, डल्लप लगायतका कृषि साधन लिएर खेतसम्म पुग्नका लागि वडा नम्बर ५ स्थित पवेरा मन्दी हुँदै तीनचार घण्टाको यात्रा गर्नु परिरहेको छ ।
पुल बगाएको महिनौं दिन भइसक्दा पनि मर्मत सम्भारमा स्थानीय सरकारले चासो नदेखाउँदा भलमन्सा चौधरीले दुखेसो पोखेका छन् ।
‘पुल बगाएको महिनौं भइसकेको छ, गाउँ गाउँमा आएको सरकारको हामीलाई महसुस भएको छैन, बेगारीले मात्रै पुल बन्ने अवस्था पनि छैन’, उनले भने–‘रकम नभएर पुल मर्मत गर्न हामी स्थानीयलाई धेरै नै समस्या भएको छ, गाउँपालिकाबाट रकम विनियोजन भएको कुरा सुन्नमा मात्रै आएको छ, तर पनि विनियोजित रकम कहिले कसरी निकासा हुने बारे केही जानकारी नभएको अवस्था रहेको छ ।’
पुल मर्मतका लागि अहिले रामपुर र भुँइयाँफाँटाका स्थानीय जनश्रमदानमा जुटेका छन् । नदिमा भएको पुलको काठ निकाल्न प्रयोग भएको जेसिबीलाई रामपुर र भुँइयाँफाँटा गाउँको कोषबाट रकम दिएको भलमन्सा चौधरीले बताए ।
पुल बगाएपछि यहाँका स्थानीयलाई निकै समस्या भइरहेको वडा नम्बर ७ का वडा अध्यक्ष दीपेन्द्र बमले बताए । ‘भुईयाफाँटा, रामपुर, तिघरीको खेतमा जाने मुख्य कृषि सडकको पुल हो त्यो’, उनले भने । ‘बाढीले पुल बगाएपछि जनताहरु आफ्नो खेतमा जान पवेराको बाटो हिड्न बाध्य छन् ।’
नदिमा पक्कीपुल निर्माणका लागि डिपीआर तयार भएको जानकारी गराउँदै अध्यक्ष बमले पुल समयमा निर्माण सम्पन्नका लागि पहल गरिरहेको बताए । साथै उनले काठे पुल मर्मतका लागि गाउँपालिकाबाट डेढ लाख रकम समेत विनियोजन भएको बताए ।
केही दिन अगाडिमात्रै सोही वडाको छटकपुर बसन्तास्थित कटैनी नदीको काठे पुललाई बाढीले बगाएको थियो । यता बर्षातका कारणले पनि पुल निर्माण तथा मर्मतमा ढिलाई हुन गएको स्थानीयहरुले बताएका छन् ।