१० चैत्र २०८१, सोमबार March 24, 2025

वडा क्लिनिक सञ्चालनका लागि स्वास्थ्य उपकरण सहयोग

२९ असार २०७९, बुधबार
वडा क्लिनिक सञ्चालनका लागि स्वास्थ्य उपकरण सहयोग

कैलाली । धनगढी उपमहानगरपालिकालाई सुदूरपश्चिम प्रदेश सरकारले स्वास्थ्य उपकरण सहयोग गरेको छ ।
विशेषज्ञ चिकित्सकसहितको वडा क्लिनिक सञ्चालन गर्न सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले धनगढी उपमहानगरपालिकालाई साढे २५ लाख मूल्य बराबरको उपकरण सहयोग गरेको हो । बुधबार सुदूरपश्चिमका सामाजिक विकास मन्त्री गोविन्द बोहराले धनगढीका नगरप्रमुख गोपाल हमाललाई प्रिन्टर सहितको अल्ट्रासाउण्ड मेशिन, अत्याधुनिक १२ च्यानलसहितको इसिजी मेशिन र मोबाइल ल्याब हस्तान्तरण गरेका हुन् । मन्त्री बोहराले २५ लाख ५३ हजार ८ सयका उपकरण नगरप्रमुख हमाललाई हस्तान्तरण गरेका थिए । उपकरण हस्तान्तरण गर्दै मन्त्री बोहराले नगरप्रमुखको आग्रहमा स्वास्थ्य उपकरण सहयोग गरेको बताए । उनले भने, ‘यस्ता अभियान अझ पनि अगाडी बढ्नेछन् । त्यसका लागि नगर प्रमुखरउपप्रमुखसँग सल्लाह गरेर मन्त्रालयले स्वास्थ्य शिविरका लागि सहयोग गर्नेछ ।’
नगर प्रमुख गोपाल हमालले धनगढी उपमहानगरपालिकाको अभियानमा प्रदेश सरकार पनि सहभागी भएको बताए । उनले प्रभावकारी ढंगले, प्राथमिकताका आधारमा यो कार्यक्रमलाई अगाडी बढाएको बताए । यस अभियानले जनतालाई स्वास्थ्य सेवामा राहत पुग्ने बताए नगरप्रमुख हमालले विश्वास लिएको बताए ।
धनगढी उपमहानगरपालिकाले १९ वटै वडामा विशेषज्ञ चिकित्सकसहितको वडा क्लिनिक सञ्चालन गर्ने नीति लिएको छ । साउन १ गतेबाट सुरु हुने उक्त अभियान सञ्चालनका लागि भाटभटेनी सुपरमार्केट धनगढीले दुई जना चिकित्सकको पारिश्रमिक तथा तलब भत्ताको रकम दिने सम्झौता गरेको छ ।
यस्तै धनगढीका औषधि व्यवसायीहरुले वडा क्लिनिकका लागि औषधि दिनेसमेत आश्वासन दिएका छन् ।