२२ भाद्र २०८१, शनिबार September 7, 2024

साना उद्यमीलाई स्थानीय सरकारले सहयोग गर्नुपर्ने जोड

२० असार २०७९, सोमबार
साना उद्यमीलाई स्थानीय सरकारले सहयोग गर्नुपर्ने जोड

कैलाली । सुरक्षित आप्रवासन(सामी) परियोजना अन्र्तगत वित्तीय साक्षरता र मनोसामजिक परामर्श कक्षाका सहभागीहरुका लागि उद्यमशिलता विकास सम्बन्धी ७ दिने आधारभूत तालिम सोमबार धनगढीमा सम्पन्न भएको छ ।
धनगढी उपमहानगरपालिका कैलाली, हेल्भेटास नेपाल र सामी परियोजनाको संयोजन तथा डिप्रोक्स नेपालको आयोजनामा भएको तालिमका सहभागीहरुले उद्यम व्यवसाय गर्ने उद्यमीहरुलाई स्थानीय सरकारले आवश्यक सहयोग गर्नुपर्ने बताएका छन् ।
तालिममा सहभागी संगीता मगरले तालिममा आफूले उद्यम सम्बन्धी धेरै कुरा सिकेको बताइन् । उनले तालिममा उद्यम व्यवसाय, बजारीकरण, लगानी तथा उद्यम व्यवसायबाट आएको पैसालाई बचत गर्ने देखि लिएर सही ठाउँमा सदुपयोग कसरी गर्ने भन्ने बारे समेत जान्न पाएको बताइन् । यसका साथै उनले गरिव तथा विपन्न पुँजी नभएर उद्यम गर्न चाहने उद्यमीलाई स्थानीय सरकारले तालिम लगायत उद्यम व्यवसाय गर्न सहयोग गर्नुपर्ने जोड दिइन् ।
अर्का सहभागी आरती रानाले राम्रो उद्यम गरीरहेको उद्यमीलाई स्थानीय सरकारले अनुदान सहयोग तथा प्रोत्साहन गर्नु पर्ने बताइन् । यसका लागि उनले स्थानीय सरकारले असल उद्यमीलाई पहिचान गरि अनुदान सहयोग लगायत दक्षता वृद्धिका तालिम दिनु पर्ने बताइन् ।
कार्यक्रममा सुरक्षित आप्रवासन (सामी) परियोजनाकी वैदेशिक रोजगार बोर्ड कार्यक्रम अधिकृत लक्ष्मी चौधरीले स–साना व्यापार व्यवसाय तथा उद्यम सञ्चालन गरी रहेका उद्यमी व्यवसायीलाई वित्तीय साक्षरतासँगै व्यवसायमुखी बनाउने उद्देश्यले तालिम सञ्चालन गरेको बताइन् । यसका साथै उनले तालिममा सहभागीहरुले उद्यम तथा व्यापार व्यवसाय र बजारीकरणबारे जानकारी भएको कुरा आफूलाई विश्वस्त भएको बताउँदै तालिममा सिकेका कुरा व्यवहारमा लागू गर्न पनि आग्रह गरिन् ।
कार्यक्रममा धनगढी उपमहानगरपालिकाका सामाजिक विकास अधिकृत टंक विष्टले स्थानीय स्तरमा भएको स्रोत साधनको प्रयोग गरी उद्यम व्यवसाय गर्न आवश्यक रहेको बताए । उद्यम व्यवसाय गर्दा उद्यमीले आफ्नो उद्यम व्यवसायको योजना सहित सञ्चालन गर्न आवश्यक रहेको बताउँदै उनले उद्यमीका लागि तालिम तथा अनुदान सहयोगका कार्यक्रम उपमहानगरपालिकाबाट गर्दै आएको बताए ।
तालिममा धनगढी उपमहानगरपालिकाका वडा नम्बर ६, ९, १०, ११, १४, १८ र १९ का २० जना उद्यमीहरुको सहभागिता रहको थियो । तालिममा जुना केसी, सिद्धि शिवाकोटी र निल प्रसाद गौतमले प्रशिक्षण गरेका थिए ।