८ बैशाख २०८१, शनिबार April 20, 2024

चट्याङ लागेर कैलारीका एक सहित ४ जनाको मृत्यु

१४ असार २०७९, मंगलवार
चट्याङ लागेर कैलारीका एक सहित ४ जनाको मृत्यु

धनगढी । मंगलबार विहान वर्षासहित चट्याङ पर्दा सुदूरपश्चिमका ४ जनाले ज्यान गुमाएका छन् । कैलालीका १ र कञ्चनपुरका ३ जनाको मृत्यु भएको हो ।
चट्याङ लागेर विहान ८ बजे कैलालीको कैलारी गाउँपालिका–१ रानामुरा गाउँ बस्ने ५६ वर्षीया सुगपंखी देवी चौधरीको ज्यान गएको छ । घर नजिकै खेतमा रोपाईं गर्ने क्रममा चट्याङ लागेर घाइते भएकी उनको सेती प्रादेशिक अस्पताल धनगढी ल्याउने क्रममा बाटोमै मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ ।
त्यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका–६ का ४० वर्षीय देवेन्द्र श्रेष्ठको चट्याङ लागेर मृत्यु भएको प्रहरीले बताएको छ । खेतमा काम गरिरहेका उनको बिहान चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यलय त्रिभुवनबस्तीले जनाएको छ ।
यस्तै पुनर्वासकै एक महिलाले पनि चट्याङका कारण ज्यान गुमाएकी छिन् । पुनर्वास नगरपालिका–८ ‘क’ गाउँकी २५ वर्षीया शारदा थापाको मृत्यु भएको प्रहरीले बताएको छ । खेतमा काम गरिरहेकी उनको बिहान चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यलय त्रिभुवनवस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले बताए ।
त्यस्तै कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का ४८ वर्षीय पुनाराम चौधरीको पनि चट्याङ लागेर मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका–३ मालाखेती रेडियण्ट ग्याँस कम्पनीको जमिनमा रोपाईँ गर्न आएका उनको चट्याङ लागेर मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
यसैगरी चट्याङ लागेर कञ्चनपुरको बेलौरी नगरपालिका–९ की ३० वर्षीया बजलिया राना घाइते भएकी छिन् । उनको इसान अस्पताल गुलरियामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।