२० मंसिर २०८१, बिहीबार December 5, 2024

कैलारीमा बाढी र आगलागीमा आधारित कृत्रिम घटना अभ्यास

१२ असार २०७९, आईतवार
कैलारीमा बाढी र आगलागीमा आधारित कृत्रिम घटना अभ्यास

हसुलिया, १२ असार । कैलालीको कैलारी गाउँपालिका–७ विपतपुरमा बाढी र आगलागीमा आधारित जिल्ला स्तरीय कृत्रिम घटना अभ्यास गरिएको छ ।
जिल्ला विपद व्यवस्थापन समिति कैलालीको आयोजनामा बाढी र आगलागीमा आधारित कृत्रिम घटना अभ्यास गरिएको हो । उक्त अभ्यासमा आगलागी र बाढी प्रकोप आएपछि बाँच्ने उपायबारे स्थानीयहरुलाई जानकारी दिइएको थियो । साथै नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीले आगलागी र बाढी आएपछि बाँच्ने उपाय, नियन्त्रण गर्ने अभ्यास गरेर देखाएको कैलारी गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ७ का अध्यक्ष दिपेन्द्र बहादुर बमले बताए । कैलाली जिल्लाको कैलारी गाउँपालिका–७ बाढी डुबानको उच्च जोखिममा रहेको र गत बैशाख ११ गते कैलारी–७ विपतपुरमा आगलागी हुँदा ७१ घरधुरी मध्ये ३७ घर पूर्णरुपमा जलेर नष्ट भएको र बाँकी घरमा पनि क्षति पुगेको प्रवक्ता बमले बताए ।


कार्यक्रममा कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरी मनसुन सुरुसँगै कैलारीको विभिन्न ठाउँमा बाढीको जोखिम बढेको बताए । उनले भने–‘कैलारी–७ बाढीको साथै आगलागीको समेत जोखिममा रहेकोले विपतपुरलाई टार्गेटमा राखी यस ठाउँमा बाढी र आगलागीमा आधारित जिल्ला स्तरीय कृत्रिम घटना अभ्यास गरिएको हो ।’
स्थानीयहरुको सहभागितामा यस्ता खाले अभ्यासले बाढी र आगलागीको प्रकोप बाँच्न र न्यूनिकरणमा टेवा पुग्ने अध्यक्षले बताए । कैलारी गाउँपालिकामा अग्नी नियन्त्रक दमकल नभएको कारणले विपतपुर गाउँ आगलागि हुदाँ ठुलो क्षति व्यहोरेको थियो । अगामी बर्षको बजेटमा दमकल खरिदको लागि ३५ लाख बजेट छुटयाएको उनले बताए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भगवतीकुमारी चौधरी, कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी किरण थापा, कैलालीका प्रहरी प्रमुख सोमेन्द्र सिंह राठौर, सशस्त्र प्रहरीका एसपी धनबहादुर सिंह, नेपाली सेनाका सेनानी नवराज नाथ, नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति उत्तम जोशी, महामन्त्री लोकराज जोशी, यूएनडिपी, मर्सिकोर, लुथरन विश्व फेडरेशन, वल्र्ड भिजन इन्टरनेशनल,कैलारी गाउँपालिका कर्मचारी, जिल्ला प्रशासन कार्यालयका कर्मचारी, स्थानीयबासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाहरुको उपस्थिति रहेको थियो ।