धनगढी । धनगढी उपमहानगरपालिकाको मंगलबार नगर सभा तथा आठौं अधिवेशन सम्पन्न भएको छ । नगरसभामा नगर प्रमुख गोपाल हमालले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । उनले प्रस्तुत गरेका नीति तथा कार्यक्रममा भौतिक पूर्वाधारको विकाससँगै कृषि, शिक्षा, स्वास्थ्य तथा पर्यटन क्षेत्रलाई विशेष महत्वका प्राथमिकातामा राखेका छन् । नगरप्रमुख हमालले आफ्नो चुनावी नारा ‘हाम्रो धनगढी : हामी बनाउछौं’ लाई महाअभियानको रुपमा मनाउने बताएका छन् ।
यसैगरी नगरको एकीकृत, सन्तुलित, दिगो, योजनावद्ध विकासका लागि मध्यकालीन खर्च संरचना, लैंगिक उत्तरदायी बजेट र दिगो विकासका लक्ष्य स्थानीयकरण सहितको पहिलो पञ्चवर्षीय आवधिक योजना (२०७९/०८०–२०८३/०८४) तर्जुमा गरी कार्यान्वयन गरिने पनि नगरप्रमुख हमालले नीति तथा कार्यक्रममा उल्लेख गरेका छन् ।
उपमहानगरपालिका क्षेत्रभित्रका सरकारी, सार्वजनिक तथा पर्ति जग्गा अतिक्रमण गरी बनाइएका संरचनाहरु हटाई सार्वजनिक जग्गा संरक्षण गर्ने कार्यलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने र त्यस्ता जग्गाहरुमा शौचालय, हरियाली सहितको क्याफेटेरिया, पार्किङस्थल, बालमैत्री उद्यान, योगपार्क, ध्यानकेन्द्र तथा जेष्ठ नागरिकमैत्री पार्क बनाउने नगरप्रमुख हमालले बताए ।
नगर क्षेत्र भित्रका सडक लगायतका पूर्वाधारको नियमित रुपमा मर्मतसम्भार तथा स्तरोन्नतिका लागि मर्मत सम्भार इकाइको गठन गर्दै उपमहानगरले ‘पूर्वाधार एम्बुलेन्स’ सञ्चालन पनि गरिने भएको छ ।
आर्थिक विकासमा कृषि क्षेत्रको उल्लेख्य योगदान रहेकोले उपमहानगरले ‘एकीकृत कृषि रणनीति’ लागू गरिने जनाएको छ । कृषि पेशालाई सम्मानित, मर्यादित, प्रतिस्पर्धी र व्यवसायीक बनाउन कृषक वर्गीकरणका आधारमा ‘व्यवसायीक कृषक पहिचान र परिचयपत्र’ को व्यवस्था गर्ने, उन्नत बिउ र आधुनिक कृषि औजारमा अनुदानको व्यवस्था गरी उत्पादकत्वमा वृषि गर्दै नगर क्षेत्रको दिगो आर्थिक विकास तथा खाद्य सुरक्षाको सुनिश्चिता गर्ने र युवालाई कृषि व्यवसाय तर्फ आकर्षित गरि स्वरोजगारी सिर्जना गर्न युवा लक्षित कृषि कार्यक्रम सञ्चालन गरिने बताए ।